धादिङमा रास्वपाबाट उम्मेदवारका आकांक्षीको संख्या बढ्दो

Avatar photo
Dhadingpost
पुस २, २०८२

धादिङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङबाट प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीहरूको संख्या बढ्दै गएको छ।

यसअघि पार्टीका केन्द्रीय कार्यवाहक सभापति डोलप्रसाद अर्याल, केन्द्रीय संगठन विभागका उपप्रमुख बोदनायण श्रेष्ठ तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्य कृष्णमान श्रेष्ठले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने आकांक्षा सार्वजनिक गरिसकेका छन्।

यसैगरी धादिङ क्षेत्र नम्बर–१ बाट थप तीन जनाले प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उम्मेदवार बन्ने आकांक्षा राख्नेहरूमा केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य रामकुमार थपलिया, धादिङ जिल्ला सभापति सूर्यमणि पाठक र क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति श्रवण त्रिपाठी रहेका छन्।

आकांक्षी तीनै जना व्यवसायिक पृष्ठभूमिका नेता हुन्। रामकुमार थपलिया अन्तर्राष्ट्रियस्तरको कार्गो कम्पनीका सञ्चालक हुन् भने जिल्ला सभापति सूर्यमणि पाठक निर्माण व्यवसायी हुन्। यस्तै श्रवण त्रिपाठी यशोदा फुड्स प्रालिका सञ्चालक तथा ‘करेन्ट चाउचाउ’का धादिङ जिल्लाका सप्लायरसमेत रहेका छन्।

रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षीहरूको संख्या बढेसँगै जिल्लामा आन्तरिक छलफल र राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।