धादिङमा प्रधानाध्यापकसँग अन्तरक्रिया, उत्कृष्ट विद्यालय सम्मानित

Avatar photo
Dhadingpost
मंसिर २९, २०८२

धादिङ । शैक्षिक गुणस्तर अभिवृद्धिलाई केन्द्रमा राख्दै शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग विज्ञसहितको अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। साथै, एस.इ.इ. २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई सम्मान गरिएको छ।

२०८२ मङ्सिर २८ गते सम्पन्न कार्यक्रम इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा जिल्लाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापक, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रेरणा, क्षमता विकास र अनुभव आदान–प्रदान

कार्यक्रममा मोटिभेसनल स्पिकर तथा वर्तमान माननीय शिक्षामन्त्रीका सल्लाहकार अभिषेक घिमिरेले प्रधानाध्यापकहरूलाई लक्षित गर्दै प्रशिक्षण प्रदान गरेका थिए। उनले शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन र नतिजामुखी शिक्षणमा जोड दिएका थिए।

एस.इ.इ. २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय सम्मानित

कार्यक्रममा एस.इ.इ. २०८१ मा उत्कृष्ट नतिजा ल्याउने २० वटा विद्यालयलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

४५ जनाभन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयतर्फ

  • प्रथम : शंखादेवी माध्यमिक विद्यालय, नीलकण्ठ–११
  • द्वितीय : महेन्द्र बाराही माध्यमिक विद्यालय, नेत्रावती
  • तृतीय : आदर्श माध्यमिक विद्यालय, गजुरी

संस्थागत विद्यालयतर्फ

  • प्रथम : धादिङ आवासीय माध्यमिक विद्यालय, धादिङबेसी
  • द्वितीय : चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालय, धादिङबेसी

शतप्रतिशत उत्तीर्ण गराउने विद्यालयलाई विशेष सम्मान

एस.इ.इ. २०८१ मा सहभागी विद्यार्थीमध्ये शतप्रतिशत उत्तीर्ण गराउन सफल सामुदायिकतर्फ ११ वटा विद्यालय सम्मानित भएका छन्। ती विद्यालयहरूमा रिगाउँ मा.वि., कल्याण मा.वि., महेन्द्रोदय मा.वि., कार्कीगाउँ मा.वि., भिमोदय मा.वि., निरञ्जना मा.वि., प्रकाश मा.वि., लामागुरु महादेव मा.वि., महेन्द्र मा.वि., भैरवी मा.वि. र महेशधर्म मा.वि. रहेका छन्।

संस्थागततर्फ सल्यानटार वालविकास इङ्लिस बोर्डिङ स्कुल, ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुल, राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल र मुनाल एकेडेमी गरी ४ वटा विद्यालय सम्मानित भएका छन्।

सफलताको रणनीति प्रस्तुत

अन्तरक्रिया कार्यक्रममा सम्मानित विद्यालयहरूमध्ये प्रकाश माध्यमिक विद्यालय, खाल्टेका प्रधानाध्यापक शंकर अधिकारीशंखादेवी माध्यमिक विद्यालय, नीलकण्ठ–११ का प्रधानाध्यापक नित्यानन्द सुवेदीले विद्यालयले अपनाएका रणनीति, व्यवस्थापन शैली र सफलताका अनुभवबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमले विद्यालयबीच अनुभव आदान–प्रदान, शैक्षिक नेतृत्व सुदृढीकरण र नतिजामुखी शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।