
पोखरा । पोखरामा बसोबास गर्ने धादिङवासीहरूले आफ्नो संस्थालाई थप व्यवस्थित र सक्रिय बनाउने प्रतिबद्धतासहित वार्षिक साधारणसभा सम्पन्न गरेका छन्। धादिङ–पोखरा सम्पर्क समाजको २७औँ साधारणसभा शनिबार पोखरामा आयोजना गरिएको हो।
सभाको उद्घाटन गर्दै इलाका मालपोत कार्यालय लेखनाथका अधिकृत कोमलप्रसाद प्याकुरेलले समाजले दुई जिल्लाबीचको सम्बन्ध जोड्ने काम गर्दै आएको बताए। उनका अनुसार समाजले सामाजिक, सांस्कृतिक र आपसी सहयोगलाई निरन्तर अघि बढाएको छ।
पोखरामा रहेका धादिङवासीलाई एकताबद्ध गर्न समाजको भूमिका अझै आवश्यक रहेको उनले बताए। आपत र विपद्का समयमा सहयोग पुर्याउने कामलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। युवालाई सही दिशामा अघि बढाउन समाजले पहल गर्नुपर्ने उनले उल्लेख गरे।
महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बबिता मल्लले धादिङ–पोखरा सम्पर्क समाजलाई पोखराको भरोसायोग्य संस्था भएको बताइन्। अग्रजहरूको योगदानका कारण संस्था मजबुत बनेको भन्दै उनले सामूहिक सहभागिता आवश्यक रहेको धारणा राखिन्।
धादिङ त्रिपुरा बाराही महिला समूहकी वरिष्ठ उपाध्यक्ष रचना अधिकारीले समाजसँग सहकार्य गर्दै सेवा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिइन्। सभामा निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डे, पूर्वअध्यक्ष नवराज दुवाडी, कृष्णबहादुर लम्साल र युगमराज अगस्तीले पनि आफ्ना धारणा राखे।
कार्यक्रम समाजकी अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा महासचिव प्रकाश दुलाल र कोषाध्यक्ष कमलबहादुर सापकोटाले प्रस्तुत गरेका प्रतिवेदन पारित गरिएको छ।
📸 तस्बिर: रामकृष्ण दुवाडी
