नेकपा धादिङले पुस ५ गते काठमाडौंमा हुने एकता सभामा १० हजार जना सहभागी गराउने

Avatar photo
Dhadingpost
मंसिर २७, २०८२

धादिङ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङको पहिलो जिल्ला कमिटी बैठक आज सम्पन्न भएको छ।

बैठकले पुस ५ गते काठमाडौंमा आयोजना हुने बागमती प्रदेशस्तरीय एकता सभामा धादिङबाट १० हजार जनसहभागिता गराउने निर्णय गरेको छ। उक्त निर्णयबारे जानकारी दिँदै नेता **दिपक लामिछाने (सुबोध)**ले एकता सभालाई भव्य रूपमा सफल बनाउन जिल्लाभर क्षेत्रगत जनपरिचालन संयन्त्र गठन गरिएको बताए।

उनका अनुसार पार्टीको सांगठनिक एकता सुदृढ बनाउने र प्रदेशस्तरीय सभालाई प्रभावकारी बनाउने उद्देश्यले व्यापक जनपरिचालन अभियान सञ्चालन गरिनेछ।

बैठकमा पार्टीका केन्द्रीय नेताहरू राजेन्द्रप्रसाद पाण्डे, पुष्पविक्रम मल्ल, गंगालाल तुलाधर, शालिकराम जम्कट्टे, रामबहादुर भण्डारी, जगत सिंखडा, गुरु बुर्लाकोटी, सुवास खतिवडा लगायतको सहभागिता रहेको थियो।

नेताहरूले बैठकमा पार्टी एकता, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा धारणा राखेका थिए।