
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू उम्मेदवार बन्ने दाबी गर्दै मिडियामा प्रचार–प्रसार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ। केही नेताहरूले उम्मेदवारी दिने भन्दै समाचार सार्वजनिक गरेपछि पार्टीले यसलाई ‘मिडिया ट्रायल’ को रूपमा लिँदै स्पष्ट सन्देश दिएको हो।
रास्वपाका अनुसार पार्टीबाट उम्मेदवार बन्न विभिन्न मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ भने हालसम्म प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रिया सुरु नै गरिएको छैन। त्यसैले प्रक्रिया सुरु नहुँदै आफू उम्मेदवार भएको घोषणा नगर्न पार्टीले आग्रह गरेको एक नेताले जानकारी दिए।
उनका अनुसार आफू उम्मेदवार भएको भन्दै मिडियामा प्रचार गर्नेहरूलाई पार्टीले स्पष्टिकरण सोध्ने तयारीसमेत गरेको छ।
प्रत्यक्षतर्फ उम्मेदवार छनोटको मापदण्ड
रास्वपाले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार छनोटका लागि निम्न मापदण्ड निर्धारण गरेको छः
- लिडरशिप एकेडेमीको नतिजा – २५ प्रतिशत
- पोलिटिकल प्रोक्सिमिटी – २० प्रतिशत
- समावेशीता – ५ प्रतिशत
- प्रारम्भिक निर्वाचन (निर्वाचन क्षेत्रका पार्टी सदस्यहरूद्वारा मतदान) – ५० प्रतिशत
कुल अंक: १०० प्रतिशत
यी सबै मापदण्ड पूरा भइसकेपछि पनि NOTA (None of the Above) विकल्प लागू गरिने पार्टीले जनाएको छ। कुनै पनि उम्मेदवार उपयुक्त नलागेमा मतदाताले कसैलाई पनि मतदान नगर्ने अधिकार प्रयोग गर्न सक्नेछन्।
यदि NOTA विकल्पले सबैभन्दा बढी मत प्राप्त गरेमा अन्य सबै उम्मेदवारको उम्मेदवारी स्वतः खारेज हुनेछ र सो निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार चयन गरी पुनः मतदान गरिने व्यवस्था रहेको छ।
पार्टीभित्र क्लस्टरलगायत थप संरचनागत प्रक्रिया पनि बाँकी रहेकाले हालको अवस्थामा आफू उम्मेदवार भएको दाबी नगर्न रास्वपाले पुनः आग्रह गरेको छ।

