
धादिङ । धादिङ जिल्लाको अग्रणी निजी विद्यालय एड्भान्स एकेडेमी धादिङमा आज वार्षिक Pre-Primary Festival भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा प्ले–ग्रुपदेखि युकेजी कक्षासम्मका बालबालिकाले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका छन्।
कार्यक्रमका सभापति विद्यालयका संस्थापक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) रहेका थिए भने प्रमुख अतिथिका रूपमा समाजसेवी तथा शिक्षाविद् रामप्रसाद अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा नानीबाबुहरूले प्रस्तुत गरेको समूह नृत्य, शिक्षकहरूको नृत्य तथा दैनन्दिन जीवनसँग सम्बन्धित आकर्षक गतिविधिले दर्शकको मन जितेको थियो।
सो अवसरमा बालमनोविज्ञानी रामकुमार थापाले “बालबालिकामा असल व्यवहार कसरी विकास गर्ने?” विषयमा अभिभावकलाई लक्षित गरी जानकारीमूलक प्रस्तुति दिएका थिए।
कार्यक्रमका क्रममा विद्यालय, विद्यार्थी तथा समुदायप्रति निरन्तर सहयोग पुर्याउने अभिभावकलाई सभापति, प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपलले सम्मानसमेत गरेका थिए।
एड्भान्स एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको प्रि–प्राइमरी फेस्टिवलले बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विद्यालयले जनाएको छ।
