
धादिङ । नेपाली कांग्रेस धादिङ–२ क्षेत्रीय कार्यसमितिको बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाले आकांक्षा अघि सारेका छन्। जेनजी पुस्ताबाट २६ वर्षीय अश्विन दुवाडीले प्रत्यक्षतर्फ उम्मेदवारी आवेदन पेश गर्दै आफ्नो राजनीतिक उदयको संकेत दिएका छन्।
बैठकका अनुसार क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ४ जनाले आधिकारिक रूपमा आवेदन दर्ता गराएका हुन्। आश्विन दुवाडी जस्ता युवाको सहभागिताले संगठनमा नयाँ पुस्ताको उपस्थिति बलियो बन्दै गएको नेताहरूले टिप्पणी गरेका छन्।
यसैबीच, हालका सांसद तथा कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीले अब पुस्ता हस्तान्तरणको आवश्यकता रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उम्मेदवारी नबन्ने घोषणा गरेका छन्। उनको निर्णयले क्षेत्र नम्बर–२ मा नयाँ नेतृत्व उदाउने सम्भावना बढेको देखिन्छ।
कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार एक क्षेत्रबाट प्रत्यक्षतर्फ १ महिला सहित ३ जना र समानुपातिकतर्फ १ महिला सहित २ जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। सोहि परिपत्रअनुसार उम्मेदवार टुंग्याउने गृहकार्यका लागि धादिङ–२ को बैठक मंसिर २६ गतेसम्म स्थगित गरिएको बैठक स्रोतले जनाएको छ।
यस्तै, धादिङ–१ मा हिजो बसेको बैठकमा समानुपातिकतर्फ परिपत्र मिलेको भए पनि प्रत्यक्षतर्फ ११ जनाको आकांक्षा देखिएको जानकारी बैठकले दिएको छ। यसले दुवै क्षेत्रमा पार्टीभित्र प्रतिस्पर्धा चर्को रहेको संकेत गरेको छ।

को हुन् जेनेजी पुस्ताका दुवाडी ?
इन्जिनियरिङ जियोलोजीका टपर विद्यार्थी, धादिङको ज्वालामुखी गाउँपालिका–ढोला निवासी अश्विन दुवाडी त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागमा इन्जिनियरिङ जियोलोजीका टपर हुन् ।
उनी इन्जिनियरिङ जियोलोजीमा टप गर्दै गत मंसिरमा Shimane University, Japan मा आयोजित Sakura Science Exchange Program मा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै जापान जाने अवसर पाएका थिए।
विद्यार्थी राजनीतिमा बौद्धिक छविको रूपमा चिनिने दुवाडी कविता, गजल र मुक्तक लेखनमा सक्रिय छन्। उनले १४ वर्षकै उमेरमा “आरम्भ” नामक साहित्यिक कृति प्रकाशन गरेका छन् र विभिन्न साहित्यिक पुरस्कारहरू जितिसकेका छन्।
त्रिचन्द्र क्याम्पसबाट स्नातक अध्ययन गर्दै गर्दा उनी एम्नेष्टी इन्टरनेशनल नेपालको त्रिचन्द्र युथ नेटवर्क का संयोजक बने। पछि एम्नेष्टी इन्टरनेशनल नेपाल राष्ट्रिय बोर्ड अन्तर्गत Youth Power Action Committee का सदस्य पनि भए।
सामाजिक तथा नेतृत्व भूमिकामा सक्रिय दुवाडी
– २०१८ मा लियो क्लब अफ काठमाडौं लालिगुँरास का सहसचिव,
– २०२४ मा बालकोट जेसिस का महासचिव,
– हाल २०२५ का लागि बालकोट जेसिसका कार्यकारिणी उपाध्यक्ष छन्।
सामाजिक सेवाका लागि स्थापना गरिएको ढोला–काठमाडौं सेवा समाज का सचिव रहेका उनी साहित्यिक रूपमा नेपाली लेखक संघ काठमाडौं का सदस्य पनि हुन्। प्रष्ट वक्ताका रूपमा चिनिने दुवाडी कुशल कार्यक्रम सञ्चालकका रूपमा लोकप्रिय छन्।
उनी हालै सम्पन्न स्ववियु चुनावमा टीयूको सचिवका प्रत्यासी समेत थिए।
