गणित शिक्षक माग : मासिक १ लाख तलब

Avatar photo
Dhadingpost
मंसिर २३, २०८२

काठमाडौं । सरोकारवाला निकायले देशभर गणित शिक्षकको अभाव बढ्दै गएको बताइरहेका बेला धनगढीको एक निजी विद्यालयले आकर्षक तलबसहित गणित शिक्षक माग गरेको सूचना सार्वजनिक गरेको छ। शिवनगर–५, धनगढीस्थित चैतन्य पाठशालाले माध्यमिक तहका लागि गणित शिक्षक आवश्यक रहेको भन्दै मासिक १ लाख रुपैयाँ तलबसहितको दरखास्त आह्वान गरेको हो।

हाल सरकारी विद्यालयतर्फ आयोगबाट स्थायी दरबन्दी पाउने शिक्षकको आकर्षण बढेसँगै निजी विद्यालयहरूमा दक्ष गणित शिक्षकको अभाव देखिएको चर्चा चलिरहेका बेला चैतन्य पाठशालाको यो प्रस्ताव ध्यानाकर्षक बनेको छ।

विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार गणित शिक्षकले नैतिक मूल्य र संस्थागत संस्कारप्रति निष्ठावान्, विषयमा राम्रो पकड, प्रभावकारी शिक्षण विधि, प्रविधि तथा कम्प्युटर सीपमा दक्ष हुनुपर्नेछ।

विद्यालयले मासिक १ लाख तलबसहित बसोबास, खानेबस्ने तथा अन्य भत्तासमेत उपलब्ध गराइने उल्लेख गरेको छ।

दरखास्त प्रक्रिया

  • फारम वितरण: २०८२–०८–२१
  • दरखास्त बुझाउने अन्तिम मिति: २०८२–०८–२९
  • फारम शुल्क: निःशुल्क
  • लेखन परीक्षा: २०८२–०९–०१ (बिहान ९:०० बजे)
  • कक्षा अवलोकन तथा अन्तर्वार्ता: २०८२–०९–०२ (बिहान ११:०० बजे)

विद्यालयले शिक्षक छनोट समितिलाई पूर्ण अधिकार रहेको स्पष्ट पारेको छ।
इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको समयभित्र आवेदन दिन आग्रह गरिएको छ।