कांग्रेसको नेपाली जनसम्पर्क समिति पोर्चुगलद्वारा भ्रामक सूचना भन्दै खण्डन

Avatar photo
Dhadingpost
मंसिर २३, २०८२

धादिङ । गण्डकी प्रदेशका पूर्व पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल दम्पतीको पोर्चुगल भ्रमणसँग जोडिएर सामाजिक सञ्जालमा सार्वजनिक भएको सूचनालाई लिएर विवाद उत्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको फेसबुक पेजमा उनीहरूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उल्लेख भएको पोस्ट प्रति नेपाली जनसम्पर्क समिति पोर्चुगलले कडा आपत्ति जनाएको छ।

एनआरएनए पोर्चुगलले हालसालै सार्वजनिक गरेको सूचनामा मन्त्री शर्माले प्रवासमा बस्ने नेपालीहरूको एकता, समस्याको समाधानमा सहकार्य र मातृभूमिको विकासप्रति प्रवासीहरूको अभिप्रायलाई जोड दिनुभएको उल्लेख थियो। कार्यक्रममा NRNA पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको जानकारी समेत दिइएको थियो।

यही सूचनालाई भ्रामक भन्दै नेपाली जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थीले औपचारिक रुपमा खण्डन गर्नुभएको छ। उहाँका अनुसार, एनआरएनए पोर्चुगलले आफू समेत सहभागि रहेको भनी उल्लेख गरिएको कार्यक्रम संस्था–नियतबद्ध औपचारिक कार्यक्रम नभई, सामान्य भेटघाट तथा डिनरको क्रममा खिचिएको सामूहिक तस्वीरको दुरुपयोगमार्फत अतिरञ्जित रुपमा प्रस्तुत गरिएको छ।

सभापति पन्थीले स्पष्टीकरण दिँदै भन्नुभयो—
“मन्त्रीज्यूलाई स्वागत तथा सम्मानार्थ औपचारिक कार्यक्रम नेपाली जनसम्पर्क समिति पोर्चुगल र बाग्लुङ समाज पोर्चुगलले संयुक्त रूपमा आयोजना गरेको हो। तर एनआरएनए पोर्चुगलको पेजबाट अनौपचारिक भेटघाटमा खिचिएको फोटो प्रयोग गरी संगठनको अन्तरक्रिया कार्यक्रम भनी प्रस्तुत गरिनु भ्रामक तथा तथ्यविपरीत छ। यसप्रति मेरो व्यक्तिगत र संस्थागत तर्फबाट घोर आपत्ति छ।”

उनले सामाजिक सञ्जालमा आएको भ्रामक सामग्रीप्रति सावधान रहन र भ्रममा नपर्न सबैलाई अनुरोध गर्दै यथार्थ बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन्।

यस घटनाले प्रवासी नेपाली समाजभित्र संस्थागत सूचना प्रवाहको विश्वसनीयता, संयम र सूचनाको दुरुपयोगबारे फेरि एकपटक प्रश्न उठेको छ।