मतदाता नामावली संशोधन तथा मतदानस्थल परिवर्तनका लागि अनलाइन निवेदन खुला

Avatar photo
Dhadingpost
मंसिर २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा देखिएका त्रुटि सच्याउन तथा एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्न चाहने मतदाताका लागि अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाएको छ। आयोगले दाबी–विरोध प्रक्रिया सञ्चालन गर्दै मंसिर २६ गतेसम्म आवेदकले आफ्ना विवरण अपडेट गर्नुपर्ने जनाएको छ।

आयोगका अनुसार तोकिएको अवधिभित्र मतदाताले
– आफ्नो विवरणमा रहेका गल्तीहरू सच्याउन,
– नामावलीबाट हटाइदिन निवेदन दिन,
– दोहोरो नाम दर्ताका सम्बन्धमा दाबी–विरोध गर्न
सक्नेछन्।

यस्तै एउटै वडाभित्र रहेका विभिन्न मतदानस्थलमध्ये पायक पर्ने स्थानमा सार्न चाहने मतदाता पनि अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आयोगले झूटो विवरणका आधारमा नाम दर्ता गराएका व्यक्तिबारे उजुरी दिन नागरिकलाई आग्रह गरेको छ।
जहाँ एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भेटिन्छ, त्यस्ता अवस्थामा एकै ठाउँमा मात्र राख्न आयोगले अनुरोध गरेको छ।

त्यस्तै, मृतक तथा नागरिकता त्यागेका व्यक्तिहरूको नाम हटाउन पनि सूचना दिन सकिने आयोगले स्पष्ट पारेको छ। दाबी–विरोधका सबै चरण पूरा भएपछि आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

आयोगले हालका कतिपय मतदानस्थलको पुनरावलोकन गर्दै अनलाइन सुविधा थप गरेको छ। अब मतदाताले वडाभित्रका उपलब्ध मतदानस्थल हेरी सबैभन्दा सहज स्थान रोजेर परिवर्तनका लागि अनुरोध गर्न सक्नेछन्।

आयोगका अनुसार अनलाइन प्रणाली विस्तारको उद्देश्य मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउने हो। त्यसका लागि आम मतदाता र सरोकारवालाको सक्रियता आवश्यक रहेको बताइएको छ।

x