प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, व्यवस्थापन र शिक्षाबीच प्रतिस्पर्धा

Avatar photo
Dhadingpost
मंसिर २१, २०८२

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा “प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता” आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउन खेलकुदसँगै विभिन्न बौद्धिक प्रतियोगितासमेत समावेश गरी प्रतियोगिताको तयारी सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा क्याम्पस अन्तर्गतका व्यवस्थापन (BBS)शिक्षा (B.Ed) संकायबीच मुख्य प्रतिस्पर्धा हुने छ। मंसिर २१, २२ र २३ गते सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेलकुद तथा बौद्धिक कार्यक्रममार्फत विद्यार्थीहरूको सक्रिय सहभागिता रहने बताइएको छ।

क्याम्पस प्रशासनले सम्पूर्ण विद्यार्थीहरूलाई आ–आफ्नो संकायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सक्रिय रूपमा सहभागी भई आफ्नो टिमलाई जिताउन सहयोग गर्न अनुरोध गरेको छ।

यस प्रतियोगिताको आयोजना स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को सक्रिय पहलमा भएको जनाइएको छ। स्ववियु सभापति अभिषेक पाण्डे ले प्रतियोगिताको महत्वबारे जानकारी दिँदै भन्नुभयो,
“स्ववियुको सक्रियतामा प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो। यो एक प्रकारको बिजारोपण हो। यसले आगामी वर्षहरूमा निरन्तरता पाइरहोस् भन्ने हाम्रो अपेक्षा रहेको छ।”

आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना विकास गर्दै आपसी भाइचारा, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। फाईल फोटो