आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : विश्व र नेपालको वास्तविकता

Avatar photo
Dhadingpost
मंसिर १६, २०८२

काठमाडौं, २ डिसेम्बर। आज विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। आधुनिक युगमा दासता असम्भव जस्तै लागे पनि विश्वका विभिन्न देशहरूमा दासताका रूप बदलिँदै निरन्तर रूपमा कायम रहेको तज्ज्ञहरूको चेतावनी छ।

इतिहासमा देखिने पारम्परिक दासताका स्वरूप त सकिए, तर अहिले पनि

  • मानिस बेचबिखन,
  • महिलामाथि हुने यौनजन्य हिंसा,
  • बालबालिकाको श्रम शोषण,
  • जबर्जस्ती विवाह,
  • सशस्त्र समूहमा बालबालिकाको प्रयोग

जस्ता क्रियाकलापहरूलाई आधुनिक दासताका रूपमा मानिन्छ। यी सबै अपराधहरू आज पनि विश्वका धेरै राष्ट्रका चुनौती बनेका छन्।

संयुक्त राष्ट्रसंघ (UN) ले सन् १९८६ देखि डिसेम्बर २ लाई दासता उन्मूलन दिवसका रूपमा मनाउँदै आएको हो। यस दिवसको उद्देश्य विश्वका सबै राष्ट्रमा हुने दासताका गतिविधिलाई अन्त्य गर्दै मानवअधिकारलाई सुनिश्चित गर्नु हो।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का पछिल्ला तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिस अहिले पनि आधुनिक दासताको सिकार बनेका छन्।
कानुनी रूपमा ‘आधुनिक दासता’ स्पष्ट परिभाषित नगरिए पनि

  • जबर्जस्ती श्रम,
  • बालश्रम,
  • दबाबपूर्ण विवाह,
  • मानव बेचबिखन

लाई दासताका प्रमुख रूप मानिने गरिएको छ।

नेपालमा दास प्रथा आधिकारिक रूपमा वि.सं. १९८३ मा प्रधानमन्त्री चन्द्र शम्शेरले समाप्त गरेका थिए। तर वास्तविकतामा दासताका विभिन्न रूपहरू ग्रामीण क्षेत्रमा लामो समयसम्म देखिन्थे।

पश्चिम नेपालमा प्रचलित कमलरी प्रथा समय–समयमा नेपालमा दासताको एक जीवित उदाहरणका रूपमा चर्चामा रहँदै आएको छ।

केही दशकअघि नेपालमा चेलीबेटी बेचबिखनका धेरै घटना देखिन्थे। तर

  • शिक्षा,
  • जनचेतनामूलक कार्यक्रम,
  • सरकार तथा गैरसरकारी संस्थाको सक्रियता

बाट पछिल्लो समय यस्तो गतिविधिमा कमी आएको देखिन्छ।