
धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरिएको छ।
विद्यार्थी उपकार संघ धुवाँकोटको आयोजनामा हुने सेभेन–ए–साइड फुटबल प्रतियोगिताका लागि निम्न पुरस्कार तोकिएको आयोजक समितिले जनाएको छ—
- प्रथम पुरस्कार : रू. १,४०,०००
- द्वितीय पुरस्कार : रू. ६५,०००
- सेमिफाइनलिस्ट : रू. २०,०००
प्रतियोगिता माघ २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिस्पर्धामा सहभागी हुन इच्छुक टिमहरूले रू. १०,००० तिरेर टिम दर्ता गराउन सक्ने आयोजकले जानकारी दिएको छ।
धुवाँकोट पात्लेमा रहेको यो खेल मैदानको निर्माण कार्य सन् ०५१ सालतिर बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायत स्थानिय युवाहरूले सुरुवात गरेका थिए। त्यसपछि स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर तामाङलगायतको सक्रियतामा पात्ले खेल मैदान सुधार हुँदै अहिले व्यवस्थित रूप लिन पुगेको छ।
धादिङमा फुटबल खेलको उद्देश्यले निर्माण गरिएको पहिलो खेल मैदान मानिने पात्ले गाउँमै खेल गतिविधिको आधारशिला राख्ने अग्रज मानबहादुर तामाङको स्मरणमा विद्यार्थी उपकार संघले हरेक वर्ष ‘मानबहादुर मेमोरियल कप’ आयोजना गर्दै आएको छ।
