
धादिङ। धादिङ समाज जापानले स्थानीय रेडक्रस सोसाईटीको सहकार्यमा आइतबार टोकियो, नागोया र ओसाका—जापानका तीन प्रमुख शहरमा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पहिलोपटक तीनै सहरमा एकैसमय आयोजन गरिएको अभियानले जापानमा रहेका नेपाली समुदायलाई मानवीय कार्यमा एकताबद्ध गरेको छ।

टोकियोमा आयोजित कार्यक्रममा ७१ जना सहभागी भएका थिए, जस मध्ये ५३ जनाले सफलतापूर्वक रक्तदान गरे।
नागोयामा २७ जना सहभागीमध्ये १६ जनाले रक्तदान गरे भने
ओसाकामा ४० मध्ये १७ जनाले रक्तदान गर्न सफल भएको समाजले जनाएको छ।

धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठका अनुसार, “यस्ता अभियानले केही व्यक्तिको जीवन बचाउन मद्दत गर्नुका साथै नेपाली समुदायबीच सामाजिक उत्तरदायित्व, एकता र मानवीयताको भावना बलियो बनाउँछ।”
आउँदा वर्षहरूमा यो अभियानलाई अझ व्यापक रूपमै विस्तार गर्ने योजनासमेत समाजले सार्वजनिक गरेको छ।
कार्यक्रमको टोकियो समन्वय समाजका कोषाध्यक्ष रामबाबु दनाईले गरेका थिए। त्यस्तै, नागोया क्षेत्रीय समितिको नेतृत्व सन्तोष भुजेलले र ओसाका क्षेत्रीय संयोजन विकास अधिकारीले गरेका थिए।
