
धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका निवासी पत्रकार अनिल अधिकारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट अडिट समितिको सदस्यमा नियुक्त गरेको छ।
विगत १३ वर्षदेखि पत्रकारितामा सक्रिय अधिकारी काठमाडौँमा बसेर वैदेशिक रोजगार तथा प्रवाससम्बन्धी विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका छन्। साथै, उनी विभिन्न कार्यक्रम सञ्चालनमा समेत सक्रिय छन्।
अधिकारी साझा सवाल अनलाइनका सम्पादक पनि हुन्। उनले सञ्चालन गरेको वैदेशिक रोजगार मोबाइल एप मार्फत प्रवासमा रहेका तथा विदेश जाने तयारीमा रहेका व्यक्तिलाई आवश्यक र भरपर्दो जानकारी उपलब्ध गराउँदै आएका छन्।
पत्रकारिता प्रशिक्षण क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। उनले अहिलेसम्म २ हजारभन्दा बढीलाई पत्रकारिता तालिम दिइसकेका छन्।
रास्वपाबाट प्राप्त नयाँ जिम्मेवारीलाई अधिकारीले महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। उनको अनुभव, बौद्धिकता र प्रवाससम्बन्धी ज्ञानले पारदर्शी र प्रभावकारी उम्मेदवार छनोट प्रक्रियामा सहयोग पुग्ने रास्वपाको केन्द्रीय संगठन विभागका उपप्रमुख बोध नारायण श्रेष्ठले बताए ।
