आज ज्यापु दिवस : नेवारी समुदायको श्रम, संस्कार र पहिचानको उत्सव

Avatar photo
Dhadingpost
मंसिर ११, २०८२

काठमाडौं । नेवारी समुदायभित्र मनाइने विशेष सांस्कृतिक पर्व ज्यापु दिवस आज देशभर विभिन्न कार्यक्रमसहित धूमधामले मनाइँदै छ। नेवारी भाषामा ‘ज्यापु’ अर्थात् कृषक तथा श्रमिक वर्गको पहिचान बोकेको यो दिवसले समुदायका श्रमिक, किसान र परम्परागत पेशामा आधारित वर्गप्रति सम्मान व्यक्त गर्ने उद्देश्य राख्छ।

यो पर्व गठामुगः चःरे पछि आउने ज्यापु पूर्णिमाका दिन मनाइन्छ। विसं २०६१ सालदेखि औपचारिक रूपमा सुरु गरिएको ज्यापु दिवसले नेवारी समुदायको मौलिक संस्कृति, परम्परा, परिधान, भेषभूषा, संगीत, बाजागाजा र सामूहिक एकताको पहिचानलाई जगेर्ना गर्ने महत्वपूर्ण कार्य गर्दै आएको छ।

उपत्यकाका विभिन्न स्थानमा आज बिहानदेखि नै धिमे बाजा, नाचगान, सांस्कृतिक र्याली, तथा परम्परागत पहिरन प्रदर्शन लगायतका कार्यक्रम भइरहेका छन्। विशेषगरी हाकु पटासीज्यापु लः (ज्यापुको पारम्परिक लुगा) मा सजिएका सहभागीहरूले जात्रालाई अझ आकर्षक बनाएका छन्। धिमेको तालमा नाचिएको जात्राले समुदायको सांस्कृतिक उर्जा झल्काउँछ।

यस दिन नेवारी परम्परागत पहिरनमा सजिएर

  • सांस्कृतिक र्याली
  • कृषि उपकरण र स्थानीय उत्पादनको प्रदर्शनी
  • नेवारी भाषामा सम्बोधन
  • परम्परागत नृत्य तथा संगीत
    आयोजना गरिन्छ।

भक्तपुर, पाटन, काठमाण्डौंसहित उपत्यकाका सबै ज्यापु बस्तीहरूमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। ज्यापु दिवसले नेवारी संस्कृतिको संरक्षण, पहिचान मजबुतीकरण, र नयाँ पुस्तामा सांस्कृतिक चेतना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। फाईल तस्वीर