
७ साल पहिले पनि यही थियो—
खाली खुट्टा, हातमा झण्डा।
लेख्न–पढ्न नजाने पनि
झण्डाको डन्डी समाइ
सपनाको महल कोर्ने प्रतिज्ञा।
नेताका भाषण,
हाम्रो मनले बनाएको लड्डु—
हरेक चुनाव यस्तै चलिरह्यो।
७ साल, ४६ साल, ६२/६३ का आन्दोलन,
२०५२ को जनयुद्धका सपना–प्रतिज्ञा—
हामीले खोजेको परिवर्तनका मुद्दा
आज ७५ वर्षसम्म पनि
सार्थक कहाँ बने र?
फेरियो समय, फेरिए दिन–रात,
फेरिए नेता, फेरिए खोलासँगै पार्टीका चोला—
तर फेरिएन नारा,
फेरिएन हाम्रो जीवनको कथा।
पहिले पनि—
भोको पेटमा झण्डा बोकेर उभिन्थ्यौँ;
आज पनि—
यही भोको पेट,
र डन्डी थामेका हात
भाँचिन लाग्दा पनि थाकेका छन्।
हाम्रा लागि राजनीति
सधैं बिग्रिएको हलो हो—
जति नै जोते पनि अन्न उब्जिँदैन,
उमेर मात्र बढ्छ,
गालामा चाउरी थपिन्छ,
निधारका गरिबीका रेखा
झन् टड्कारिन्छन्।
भाग्य हातमा लेखिन्छ भनिन्थ्यो—
तर हामीले जोत्ने हलोले,
झण्डा बोक्ने दौडधूपले
हातका रेखाहरू पनि
सायद मेटिँदै गएका छन्।
नेता फेर्छन्, सरकार फेर्छन्, नीति फेर्छन्—
तर सत्ताको मोहासँग बाँधिएको
हाम्रो भोको पेट, खाली खुट्टा,
किन फेरिन सकेन राजनीति?
हामी फेरिन्छौँ
मतपत्रको स्वास्तिक छापमा;
नेता फेरिन्छन्
सत्ताको सिंहासनमा।
यो फेरबदलको खेलमा
खेलाडी मात्र बदलिन्छन्—
खेलको नियम कहिल्यै बदलिँदैन,
त्यसैले
हाम्रो अवस्था आज पनि
कहिल्यै फेरिएन।
