प्रचण्डद्वारा बेनीघाट रोराङको प्रशासनिक भवन भव्य समारोहका बीच उद्घाटन

Avatar photo
Dhadingpost
मंसिर १०, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण गरिएको अत्याधुनिक प्रशासनिक भवन नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहका बीच शुक्रबार उद्घाटन गरेका छन्। करिब १४ करोड रुपैयाँ लागतमा निर्मित सो बहु–उपयोगी संरचना अब गाउँपालिकाबाट हुने सेवा–प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा प्रचण्डसँगै पूर्वमन्त्रीहरू राजेन्द्र प्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, गंगालाल तुलाधर, नेता पुष्पविक्रम मल्ल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता थियो।

‘देशले मागे जिम्मेवारीबाट पन्छिन्न’: प्रचण्ड

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रचण्डले आफूलाई व्यक्तिगत रूपमा फेरि प्रधानमन्त्री हुने इच्छा नरहेको तर “देशले माग्यो र जनताले चाहे भने जिम्मेवारीबाट नमेटिने” बताए।

उनले केपी शर्मा ओलीको “दब्ध नीति र कठोर निर्णय” का कारण जेन्जी आन्दोलन जन्मिएको दाबी गर्दै, जेन्जी पुस्ताले उठाएका मागहरू “जायज र मननयोग्य” रहेको टिप्पणी गरे।

पाण्डेको भनाइ: ‘आगामी निर्वाचनपछि प्रचण्ड नै प्रधानमन्त्री देख्न चाहन्छु’

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी निर्वाचनपछि पुनः प्रचण्ड नेतृत्वको सरकार देख्न चाहेको अभिव्यक्ति दिए।

२०७७ मा शिलान्यास, अहिले सेवा–प्रवाह आधुनिक

नयाँ प्रशासनिक भवनको शिलान्यास २०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले संयुक्त रूपमा गरेका थिए।

१३ करोड ९० लाख रुपैयाँ लागतमा बनेको ३८ कोठे भवन तीनवटा तला भएर विभाजन गरिएको छः

  • पहिलो तला: सामान्य प्रशासनिक सेवा
  • दोस्रो तला: उप–प्रमुखको कार्यकक्ष र न्यायिक इजलास
  • तेस्रो तला: पालिकाका प्रमुखको कार्यकक्ष

यसअघिसम्म सहकारीको भवन भाडामा लिएर सेवा दिँदै आएको गाउँपालिकाले अब आधुनिक, व्यवस्थित र नागरिकमैत्री प्रशासनिक सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ।