
धादिङ — बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण भएको अत्याधुनिक प्रशासनिक भवन मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुसार भवन पूर्ण रूपमा तयार भइसकेको छ र उद्घाटन दिन शैक्षिक प्रदर्शनीसहित विशेष समारोह आयोजना गर्ने तयारी छ।
यस भवनको शिलान्यास २०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले संयुक्त रूपमा गरेका थिए।
करिब १४ करोड लागतमा बनेको यो भवन अब सञ्चालनमा आएपछि सेवा–प्रवाह थप सहज र प्रभावकारी हुने गाउँपालिकाको विश्वास छ।
३८ कोठासहित बहु–उपयोगी आधुनिक संरचना
नयाँ प्रशासनिक भवन तीन तलामा विभाजित छ—
- पहिलो तला: सामान्य प्रशासनिक सेवा
- दोस्रो तला: उप–प्रमुखको कार्यकक्ष तथा न्यायिक इजलास हल
- तेस्रो तला: गाउँपालिकाका प्रमुखको कार्यकक्ष
- कुल कोठा संख्या: ३८
अहिलेसम्म सहकारीको भवन भाडामा लिएर सेवा दिँदै आएको गाउँपालिकाले अब आधुनिक, थप व्यवस्थित र नागरिकमैत्री प्रशासनिक सेवा दिने तयारी गरेको छ। तस्वीरः अशोक श्रेष्ठ
