
धादिङ । तिमल्सिना समाज नेपाल धादिङको पाँचौँ साधारण सभा २०८२ मंसिर ६ गते त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटस्थित त्रिपुरासुन्दरी माई मन्दिर परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम तिमल्सिना समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिल तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। विशेष अतिथिमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेल उपस्थित रहेका थिए।
सभामा धादिङका विभिन्न स्थानबाट आएका सयौँ तिमल्सिना समुदायका बन्धुहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय वडाअध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा समाजसेवीहरूको समेत सहभागिता थियो।
कार्यक्रमका क्रममा ८० वर्ष पूरा गर्नुभएका जेष्ठ नागरिकलाई सम्मान, समाजका लागि उल्लेखनीय योगदान गर्ने दुई युवालाई प्रोत्साहन सम्मान, थानीचण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण तथा त्रिपुरासुन्दरी भजन समूहलाई पोशाक र भजन सामग्री वितरण गरिएको थियो।
सभाले आगामी वर्षहरूका लागि योजना तथा कार्यक्रम तय गर्दै नयाँ नेतृत्व पनि चयन गरेको छ।
आगामी तीन वर्षे कार्यकालका लागि विदुर तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ।
