भानुभक्त माविको ५० वर्षे यात्रा, स्वर्ण जयन्ती मंसिर २८–२९ मा

Avatar photo
Dhadingpost
मंसिर ७, २०८२

धादिङ। गजुरी–६, जरेबगैचामा रहेको भानुभक्त माध्यमिक विद्यालय स्थापना भएको ५० वर्ष पुगेको छ। विद्यालयले यो अवसरमा मंसिर २८ र २९ गते स्वर्ण जयन्ती महोत्सव मनाउने तयारी गरेको छ।

विद्यालयका प्रधानाध्यापक षडानन्द सुवेदीका अनुसार महोत्सवमा विद्यार्थी र शिक्षकले नृत्य, हाजिरी–जवाफ, खेलकुद जस्ता कार्यक्रम प्रस्तुत गर्नेछन्। साथै पूर्व शिक्षक, समितिका सदस्य, समाजसेवी र पूर्वविद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि हुनेछ।

महोत्सवमा स्मारिका प्रकाशनअक्षय कोष स्थापना गरिँदैछ। सहयोगकर्ताका लागि विद्यालयले रकम अनुसार सम्मानको व्यवस्था गरेको छ—नाम वाचनदेखि प्रमाणपत्र, खादा र फ्रेमसम्म।

पूर्वप्रधानाध्यापक रञ्जन सुवेदीका अनुसार विद्यालयको सुरुवात २०२३ सालमा खोल्मे गोठ भत्काएर गरिएको थियो। आज यो विद्यालयमा आधुनिक भवन, पुस्तकालय, कम्प्युटर प्रयोगशाला र सेमिनार हल छन्। Room To Read, जाइका र Edutech Nepalको सहयोगले विद्यालय थप सुदृढ बनेको हो।

विद्यालय पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ। हराभरा वातावरण, पोखरे खोलाको सुसेली र हिमालको दृश्यले पढाइको माहोल सुगम बनाएको विद्यालयले बताएको छ।

यस विद्यालयबाट ३०० भन्दा धेरै विद्यार्थी SLC उत्तीर्ण भइसकेका छन्। गाउँमा बसोबास गर्ने ब्राह्मण, क्षेत्री, भुजेल, मगर, तामाङ, चेपाङ र दलित समुदायका विद्यार्थी यहाँ अध्ययन गर्छन्।

विद्यालयका अध्यक्ष तथा वडाध्यक्ष भक्तबहादुर (कर्ण) तामाङका अनुसार विद्यालयको लक्ष्य आगामी वर्षहरूमा प्राविधिक र व्यवहारिक शिक्षालाई अझ बलियो बनाउने रहेको छ। तस्वीरः गणेश पाण्डे