घर–माईती गर्ने अनौठो परम्परासहित त्रिपुरासुन्दरी मेला मंसिर ६–७ मा

Avatar photo
Dhadingpost
मंसिर ६, २०८२

धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको त्रिपुरासुन्दरी माई भगवती मन्दिर क्षेत्र यस वर्ष पनि भव्य धार्मिक मेलाले गुलजार हुने भएको छ। “देवी भगवतीलाई घर–माईती सार्ने” अनौठो एवं ऐतिहासिक परम्परासहितको यो मेला मंसिर ६ र ७ गते दुई स्थानमा आयोजना हुँदैछ।

मेला त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटस्थित भगवती मन्दिर परिसरमा मंसिर ६ गते (बिहीबार) सुरू भएर गाउँपालिका–६, सल्यानवेसीस्थित भगवती मन्दिरमा मंसिर ७ गते (शुक्रबार) सम्पन्न हुनेछ।

त्रिपुरासुन्दरी क्षेत्रमा रहेको तीनवटा भगवती मन्दिरलाई क्रमशः घर, माइती र मावलीका रूपमा मान्ने धार्मिक विश्वास रहिआएको छ। प्रत्येक वर्ष मंसिर महिनामा यी शक्तिपीठबीच देवी भगवतीको प्रतिमा सार्ने अनौठो परम्परा समेत पालन हुन्छ।

यसैअनुसार, मंसिर ७ गते बिहान सल्यानकोटको “घर” मन्दिरबाट सल्यानवेसीको “माइती” मन्दिरमा देवी भगवतीको मूर्ति भव्य धार्मिक विधिविधानसहित सारिने छ। यो परम्परा वर्षौंदेखि निरन्तर रूपमा चल्दै आएको महत्वपूर्ण धार्मिक संस्कार मानिन्छ।

त्रिपुरासुन्दरी गाउँपालिकाले मेलाको भीड, व्यवस्थापन तथा भक्तजनको सहज सहभागिताका लागि मंसिर ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

त्यसैगरी, मेलालाई सांस्कृतिक रूपमा समृद्ध बनाउन कलाकारहरू सहभागी गराइने पनि गाउँपालिकाले सूचना जारी गरेको छ।

स्थानीय युवासमुदायको चासो : “कलाकार र नेताको भीडले मेलाको मौलिकता हराउँदै जान्छ”

मेला भव्य बनाउन भन्दै वर्षेनी कलाकार तथा नेताहरूलाई आमन्त्रण गर्दै आएको भन्दै गणेशथान युवा क्लबले यस वर्ष सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेको छ।

युवाहरुले पोस्टमार्फत यस्तो बताएका छन्—

  • “त्रिपुरासुन्दरी मेलामा कहिले नेताहरूलाई भाषणका लागि ल्याउने, एक–एक घण्टा समय खर्च हुने…”
  • “कहिले बार क्लब दोहोरीका कलाकारहरू मात्रै ल्याउने… यसरी मेलाको मौलिकता हराउँदै जान्छ।”

क्लबले गाउँपालिका र धार्मिक समितिलाई सुझाव पनि दिएको छ—

  • महायज्ञ, भागवत पाठ, कथा वाचन, भजन–कीर्तन
  • सन्त–महन्तको प्रवचन
  • नेपाली प्रचलित बाजा र लोक खेल–खैजेडी
  • सांस्कृतिक मूल थिम जोगाउने कार्यक्रम

यसरी चलाए मात्र मेलाको वास्तविक महत्व जोगिने र गाउँपालिकाको कार्यकाल पनि “सफल र स्मरणीय” हुने युवाहरूले उल्लेख गरेका छन्