
टोकियो। नेपाल पत्रकार महासंघ जापान शाखाका वर्तमान सचिव राजन गौतमले कार्यकाल २०२५–२०२८ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। आगामी नोभेम्बर २३ मा हुने निर्वाचनका लागि उनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।
लगभग दुई दशक लामो सञ्चार–यात्रा र ११ वर्षदेखि जापानमा रही प्रवासी पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै आएका गौतम अन्तर्राष्ट्रिय धादिङ समाजका प्रेस संयोजकसमेत हुन्। संस्थाको संरक्षण, विस्तार र पेशागत सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै उनले “व्यावसायिक, सवाल पत्रकारिताको प्रवर्द्धन र सम्पूर्ण सञ्चारकर्मीको हितमा क्रियाशील रहने” प्रतिवद्धता व्यक्त गरेका छन्।
स्थापनाकालदेखि संस्थाले ल्याएका उपलब्धिहरूको संरक्षण गर्दै, वर्तमान कार्यसमितिबाट सुरू भएका तर पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी योजनाहरूलाई यथासम्भव सम्पन्न गर्ने गौतमले बताएका छन्।
वि.सं. २०६१ मा रेडियोबाट औपचारिक पत्रकारिता यात्रा सुरू गरेका गौतम त्यसपछि रेडियो, टेलिभिजन, पत्रपत्रिका हुँदै उद्घोषक, भ्वाइस–ओभर आर्टिस्ट तथा Public Speaking प्रशिक्षकका रूपमा पनि सक्रिय रहँदै आएका छन्।
सन २०१४ देखि नेपाल पत्रकार महासंघ जापान शाखामा आवद्ध उनले १० वर्ष मुलधारको पत्रकारिता र पछिल्ला ११ वर्ष जापानमा बसेर नेपाली पत्रकार समुदायलाई एकीकृत गर्दै संगठन विस्तार, तालिम, पैरवी र अवसर निर्माणमा महत्वपूर्ण योगदान दिएका छन्।
१. संगठन सुदृढीकरण र पहुँच विस्तार
गौतमले महासंघको गतिविधि टोकियोमै सीमित नराखी, आवश्यकता अनुसार विभिन्न प्रान्तमा विशेष बैठक, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।
२. पत्रकार तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम
उनले प्रस्ताव गरेका प्रमुख तालिम–कार्यक्रम:
- अनलाइन पत्रकारितामा एआईको महत्व र प्रयोग
- मल्टिमिडिया कन्टेन्ट क्रियटर प्रशिक्षण
- नेपाली पत्रकारिताका नयाँ ट्रेन्डहरू सम्बन्धी तालिम
- फोटो–भिडियो पत्रकारिता (बेसिक तथा एडभान्स)
- जापानी सञ्चार माध्यम तथा प्रक्रियाबारे अध्ययन–अन्तर्क्रिया श्रृंखला
- ग्लोबल वार्मिङ, सांस्कृतिक तथा ऐतिहासिक स्थल भ्रमणमार्फत खोज पत्रकारिता कौशल वृद्धि
- जापानमा अध्ययनरत विद्यार्थी लक्षित जीवनशैली, संघर्ष र अवसर विषयक अन्तरसंवाद कार्यक्रम
३. नेपाली समुदायका संस्थाहरूसँग सहकार्य विस्तार
एनआरएनए भाषा समिति, अनेसास, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, विद्यार्थी समाजलगायत संस्थासँग सहकार्य गर्दै भाषा, संस्कृति र समुदाय हितका कार्यक्रम अघि बढाइनेछ।
गौतमले आफ्नो उम्मेदवारीलाई “संगठनलाई चुस्त–दुरुस्त बनाउँदै पेशागत सशक्तिकरणको नयाँ युग सुरू गर्ने प्रतिवद्धता”का रूपमा प्रस्तुत गरेका छन्।
हाल उनी नेपाल न्यूजपोस्ट डटकमका प्रधान सम्पादक तथा महासंघ जापान शाखाका सचिवका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
