
मानव सभ्यताको विकाससापेक्ष इतिहासलाई हेर्ने हो भने साक्षरताले सधैँ परिवर्तन र प्रगतिका ढोका खोलेको छ। वास्तवमा भन्ने हो भने साक्षरता मानव जीवनमा एक अभिन्न अंग बनेको छ। ढुङ्गामा कुदिएका चित्रहरूदेखि लिएर कागजमा कोरिएका शब्द र पुस्तकालयमा सजिएका ज्ञानकोशले नै, “साक्षरता मानिसको चेतनाको मूल आधार हो” भन्ने कुरा पुष्टि गर्दछ। तर आजको २१ औँ शताब्दीमा कागज र कलमले होइन, स्क्रीन र क्लिकहरूले हाम्रो जीवनलाई परिभाषित गर्छ। यही युगलाई हामी डिजिटल युग भन्छौँ र यसै वातावरणमा साक्षरताको अर्थ पनि फेरिएको छ।
मार्शल म्याकलुहानले भनेका छन्:- “साक्षरताले, दृश्य प्रविधिको माध्यमबाट, जनजातीय संरचनालाई टुक्र्याइदियो र विशिष्टताको जोडले प्रत्येक व्यक्तिलाई स्वतन्त्र पहिचान दियो।” मानव सभ्यताको प्रारम्भदेखि नै ज्ञान, चेतना र विवेक जीवनका मूल आधार मानिएका छन्। चन्द्र र सूर्यले निरन्तर ज्योति दिएझैँ साक्षरताले समाजलाई विवेकी आणि प्रगतिशील बनाएको छ। परम्परागत समयमा साक्षरता भन्नासाथ पढ्न र लेख्न सक्ने बुझिन्थ्यो तर आजका दिनमा साक्षरता भन्नाले इन्टरनेट प्रयोग गर्ने, विभिन्न प्राविधिक उपकरणमा दक्ष, सूचना खोज्ने र समाजमा र जीवनमा त्यसको मूल्याङ्कन गरी उपयोग गर्न सक्ने क्षमतालाई जनाउँछ र यो क्षमता भएको एक व्यक्ति ‘ग्लोबल सिटीजन’ को रूपमा चिनिन सक्षम हुन्छ।
क्यानाडाली सञ्चार विज्ञ ‘मार्शल म्याकलुहान’ ले प्रस्तुत गरेको ग्लोबल भिलेजको अवधारणाले संसारलाई एउटा सानो गाउँमै बनाएको छ, जहाँ एउटै कुनाबाट अर्को कुनासम्म पुग्न समय वा दूरीको अवरोध छैन। फेसबुक, युट्युब, टिकटक, अनलाइन मिडिया, भर्चुअल क्लासरूम, यी सबैले संसारलाई साँच्चै एउटै गाउँ जस्तो बनाएको छ। नेपालमा बस्ने विद्यार्थीले अमेरिकाको विश्वविद्यालयको अनलाइन क्लास लिन सक्छ, अफ्रिकामा हुने फुटबल प्रतियोगिता नेपाली दर्शकले प्रत्यक्ष हेर्न सक्छन्, युरोपमा भएका अनुसन्धानहरू केही मिनेटमै एसियामा पढ्न पाइन्छ। डिजिटल साक्षरता नभएको मान्छे गाउँको कुनामा थुनिएर बस्न बाध्य हुन्छ भने अन्य मानिसहरू संसारसँगै हिँडिरहेका हुन्छन्।
आजको समाजमा डिजिटल साक्षरताको महत्त्व अपार छ। सूचना प्रविधिले हाम्रो जीवनलाई पुरै घेरिसकेको छ। प्रत्येक समाचार, हरेक ज्ञान र मनोरञ्जनका साधनहरू इन्टरनेटको संसारमा संग्रहित छन्। सामाजिक सञ्जालले मानिसलाई एकअर्कासँग जोडेको छ। व्यापार, स्वास्थ्य, शिक्षा र शासन सबै डिजिटल स्वरूपमा बदलिएका छन्। यस्तो अवस्थामा साक्षरताको आवश्यकता विस्तारित छ। वर्तमान समयमा जसले इन्टरनेटमा सूचना खोज्न, आलोचनात्मक सोचको विकास गर्न तथा सुरक्षित भविष्यको मार्गचित्र कोर्न सक्दैन, ऊ आधुनिक समाजको गतिमा पछि पर्न सक्छ। “शिक्षा, भविष्यतर्फको राहदानी हो।” माल्कम एक्सले भनेका यस भनाइले डिजिटल युगमा गहिरो अर्थ लिन्छ। हामीले आज प्रविधि बुझ्यौँ भने भोलि हाम्रा लागि अवसरको ढोका खुल्ने छ। असारमा छरेको बिउ कार्तिकमा काट्न पाइन्छ भन्ने उखानले यस कुरालाई समर्थन गर्दछ।
नेपालमा पछिल्लो समयमा साक्षरता दर उल्लेखनीय रूपमा बढेको छ। नेपालको जनगणना २०६८ मा ६५.९ प्रतिशत रहेको साक्षरता २०७८ मा पुग्दा ७६.३ प्रतिशत पुग्नमा सूचना तथा सञ्चारका साधनहरूको उल्लेखनीय भूमिका रहेको छ। त्यस्तै ‘डिजिटल २०२५: नेपाल’ ले प्रकाशन गरेको रिपोर्ट अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १६.५ मिलियन रहेको छ र इन्टरनेट प्रवेश दर ५५.८ प्रतिशत पुगेको छ। हाल १४.३ मिलियन मानिसहरूले सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्।
डिजिटल युगमा साक्षरताको प्रवर्द्धन एक महत्त्वपूर्ण विषय हो तर यसले थुप्रै चुनौतीहरू पनि निम्त्याएको छ। डिजिटल असमानताका कारण ग्रामीण र शहरी क्षेत्रमा साक्षरता समान रूपमा विस्तार हुन सकेको छैन। धेरै विद्यार्थीहरू सामाजिक सञ्जालमा सक्रिय भए तापनि यसको जिम्मेवार प्रयोग, अनलाइन शिक्षा वा सुरक्षित बैंकिङ प्रणालीमा उनीहरूको ज्ञान अझै पनि सीमित छ जसकारण विद्यार्थीहरू मात्र होइन युवा, वृद्ध, सबैलाई अनलाइन सेवा प्रयोग गर्न कठिन बनाएको छ। यसबाहेक, अत्यधिक डिजिटल निर्भरताले बालबालिकाको ध्यान, दक्षता र मानसिक स्वास्थ्यमा असर पार्ने तथा साइबर अपराधले व्यक्ति र समाजको जीवन भताभँग्ग बनाउने कुराको बहस चलिरहेको छ।
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ डिजिटलले साक्षरता प्रवर्द्धन गर्न असम्भव भने छैन। यसका लागि सरकारले राजनीतिक योजनालाई अल्पकालीन एवम् दीर्घकालीन बनाउने पक्षमा केन्द्रित हुनुपर्ने देखिन्छ। अल्पकालीन रूपमा सुधार तथा योजना निर्माण गर्दा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट सेवा पुयाउन सरकारले ठूला परियोजनाहरूको निर्माणसँगै मोबाइल र कम्प्युटर जस्ता डिजिटल उपकरणहरूमा सहुलियत दरमा पहुँचको व्यवस्था गर्नु आवश्यक देखिन्छ। डिजिटल साक्षरता बढाउनको लागि सबै सङ्घ–संस्थासँग हातेमालो गरी विद्यालय, कलेज, ग्रामीण समुदायमा इन्टरनेटको सही प्रयोग, इमेल र सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महत्त्वका बारेमा तालिम दिन पर्दछ। सरकारले प्रवाह गर्ने सार्वजनिक सेवा लगायत अन्य सेवाहरू सहजै रूपमा डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने प्रणालीको विकास गर्नुपर्दछ।
निरन्तर प्रयास बिना डिजिटल ज्ञानको विकास असम्भव छ। डिजिटल साक्षरताले कुनै पनि देशको विकासको लागि अति आवश्यक र अपरिहार्य पक्ष हो। हामीले समावेशीकरणको सिद्धान्त अपनाउँदै समाजमा डिजिटल साक्षरताको प्रवर्द्धन गर्नुपर्दछ। यसबारे सचेतना फैलाउँदै समाजका हरेक व्यक्तिलाई साक्षर बनाउन पर्छ। यसले व्यक्तिगत जीवनलाई मात्र नभई राष्ट्रलाई पनि उज्यालो बनाउँछ। शिक्षालाई समावेशी, अर्थतन्त्रलाई समृद्ध, लोकतन्त्रलाई बलियो र संस्कृतिलाई वैश्विक बनाउँछ। त्यसर्थ, डिजिटल साक्षरतामा लगानी गर्नु केवल आजको आवश्यकता मात्र होइन वर्तमान पुस्ताको भविष्य पनि हो।
विपिसा सुवेदी
नीलकण्ठ बालमन्दिर मावि
नीलकण्ठ–३, धादिङबेसी
