
धादिङ — धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण भएको सुविधा सम्पन्न प्रशासनिक भवन मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुसार भवनको निर्माण कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ र उद्घाटन समारोहमा शैक्षिक प्रदर्शनीसहित विशेष कार्यक्रम आयोजना गरिने छ।
यस भवनको शिलान्यास २०७७ साल जेष्ठ ३० गते शुक्रबार तत्कालीन संघीय सांसद भूमीप्रसाद त्रिपाठी र तत्कालीन गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले संयुक्त रूपमा गरेका थिए।
करिव १४ करोड लागतमा बनेको यो भवन अहिले पूर्ण रूपमा तयार भई उद्घाटनका लागि तयार भएको गाउँपालिकाले जनाएको छ।
३८ कोठासहित बहु–उपयोगी संरचना
प्रशासनिक सेवा सहज बनाउनका लागि निर्माण गरिएको तीनतले भवनमा–
- पहिलो तला: सामान्य प्रशासनिक कार्य
- दोस्रो तला: उप–प्रमुखको कार्यकक्ष तथा न्यायिक इजलास हल
- तेस्रो तला: गाउँपालिकाका प्रमुखको कार्यकक्ष
- कुल कोठा संख्या: ३८
अहिले सहकारीको भवन भाडामा लिएर प्रशासनिक कार्य गर्दै आएको बेनीघाट रोराङले यो भवन तयार भए सँगै सेवा–प्रवाह अझ प्रभावकारी हुने छ।
