
धादिङ । जेनजी आन्दोलनपछि पहिलोपटक बसेको नेपाली कांग्रेस धादिङको बैठक दुई दिन लगाएर सम्पन्न भएको छ। बैठकले केन्द्रलाई नियमित महाधिवेशन छिट्टै घोषणा गर्न आग्रह गरेको छ। समयमै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वसहित चुनावमा जाने निर्णय पनि गरिएको छ।
संगठन सुदृढीकरणका क्रममा क्रियाशील सदस्य नवीकरण अन्तिम चरणमा पुगेको र अब १०४ वडामा नयाँ क्रियाशील सदस्यता वितरण गरिने कांग्रेस धादिङले जनाएको छ। यसका लागि प्रत्येक वडामा जिल्ला प्रतिनिधि खटाइनेछ।
स्थानीय तहका कांग्रेस जनप्रतिनिधिसँग समन्वय बैठक गर्ने तयारी पनि बैठकले गरेको छ।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयको सुरक्षामा खटिएका तरुण दलका उपाध्यक्ष राधाकृष्ण भण्डारीसहित युवा टोलीलाई कांग्रेस धादिङले धन्यवाद व्यक्त गरेको छ।
