
काठमाडौं । नेपालसहित विश्वभर आज विश्व मधुमेह दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। संयुक्त राष्ट्रसंघले सन् २००६ देखि औपचारिक रूपमा यो दिवसलाई मान्यता दिएपछि प्रत्येक वर्ष १४ नोभेम्बरमा मधुमेहबारे जागरूकता फैलाउने उद्देश्यले विशेष कार्यक्रम हुँदै आएका छन्।
यो दिन इन्सुलिनका आविष्कारक सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि भएकाले यसै दिनलाई विश्व मधुमेह दिवसका रूपमा मनाइने गरिएको हो। बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलोपटक इन्सुलिन विकास गरेर मधुमेहको उपचारमा ऐतिहासिक क्रान्ति गरेका थिए।
चिकित्सकका अनुसार विश्वभर हाल करिब ४६ करोडभन्दा बढी व्यक्ति मधुमेहले प्रभावित छन्। नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज हुनसक्ने अनुमान गरिन्छ।
विशेषज्ञहरूका अनुसार अनियमित जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपना, तनाव, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि र वंशाणुगत कारण प्रमुख जोखिम कारक हुन्।
सन् २०२५ को विश्व मधुमेह दिवसको नारा “Diabetes and Well-being” रहेको छ।
यसले मधुमेहसँगै पनि स्वस्थ, सन्तुलित र सुखद जीवन बिताउन सकिन्छ भन्ने सन्देश दिँदै मानसिक तथा शारीरिक कल्याणलाई मुख्य रूपमा जोड दिएको छ।
