धादिङ उद्योग वाणिज्य संघको ३२औं साधारणसभामा केन्द्रीय अध्यक्ष ढकालले निजी क्षेत्रमाथि आक्रमण रोक्न आग्रह

Avatar photo
Dhadingpost
कार्तिक २७, २०८२

धादिङबेसी। धादिङ उद्योग वाणिज्य संघले आफ्नो ३२औं वार्षिक साधारणसभा र ३४औं स्थापना दिवस आज धादिङबेसीमा एक विशेष समारोहका बीच सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको औद्योगिक क्षेत्र हालैका राजनीतिक र सामाजिक उतार–चढावबाट गम्भीर रूपमा प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार, जेन–जी आन्दोलन पवित्र उद्देश्यका साथ सुरु भए पनि केही अवाञ्छित समूहको घुसपैठका कारण उद्योग र निजी क्षेत्रले तोडफोड, आगजनी र अन्य क्षति बेहोर्नुपरेको छ।

ढकालले भने, “निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो। सबैभन्दा धेरै कर तिर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादनमा योगदान दिने यही क्षेत्र हो। त्यसैले कुनै पनि आन्दोलन वा विद्रोहमा निजी क्षेत्र निसानामा पर्नु हुँदैन।”

कार्यक्रममा संघका अध्यक्ष रामकुमार डल्लाकोटीले संघका गतिविधिलाई अझ पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि डिजिटल प्रणालीको प्रयोग सुरु गरिएको जानकारी दिनुभयो। उहाँले सदस्यता प्रक्रिया सबै उद्यमी र व्यवसायीका लागि खुला र समावेशी बनाइएको बताउनुभयो।

त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङभित्रका गौरवशाली योजनाहरू समयमै सम्पन्न गर्न महासंघले पहल गरिदिन अध्यक्ष ढकालसँग आग्रह गर्नुभयो।

तस्वीर: अशाेक श्रेष्ठ