
काठमाडौं । बुलेट मोटरसाइकल राइडर्सको समूह काठमाडौं इन्फिल्डर्स क्लबले धादिङका सक्रिय पत्रकार अशोक श्रेष्ठलाई सम्मानित गरेको छ।
धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले गत कार्तिक दोस्रो साता आयोजना गरेको टुरका क्रममा प्रचारप्रसार, समन्वय तथा सहकार्य गरेर सहयोग पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई कदरपत्रद्वारा सम्मान गरिएको हो।
क्लबले काठमाडौंको सतुङ्गलस्थित चिया हबमा आयोजित कार्यक्रममा पत्रकार श्रेष्ठसहित टुरलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरेको थियो।
गत टुरका क्रममा क्लबले धादिङको प्रसिद्ध भैरवी मन्दिर र आसपासका पर्यटकीय स्थलहरूमा प्रवर्द्धनात्मक यात्रा गरेको थियो। सो अवसरमा क्लबका सदस्यहरूले भैरवी माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामग्री वितरण समेत गरेका थिए।
सम्मानित पत्रकार अशोक श्रेष्ठले धादिङको पर्यटन प्रवर्द्धनमा योगदान दिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि प्रचारप्रसार र स्थानीय पर्यटन प्रवर्द्धनमा सक्रिय रहिरहने प्रतिवद्धता जनाए।
निलकण्ठ नगरपालिका–४ निवासी श्रेष्ठले भने, “म मध्य धादिङको मान्छे हुँ। दक्षिणी धादिङको ब्रोम्दिङदेखि उत्तरी धादिङको रुबीभ्यालीसम्मका क्षेत्रको पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउने लक्ष्य राखेको छु।”
