रास्वपा धादिङको विस्तारित बैठक सम्पन्न, सबै वडामा भेला गर्ने निर्णय

Avatar photo
Dhadingpost
कार्तिक २६, २०८२

धादिङ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको विस्तारित बैठक धादिङबेसीमा सम्पन्न भएको छ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, संगठन निर्माण तथा आगामी चुनावी रणनीतिका विषयमा विस्तृत छलफल भएको केन्द्रीय प्रशिक्षण विभाग सदस्य कृष्णमान शाक्यले जानकारी दिएका छन्।

जिल्ला सभापति सुर्यमणि पाठकको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाका सबै वडामा वडा भेला आयोजना गर्ने निर्णय गरेको छ।

हालै सामाजिक क्षेत्रका परिचित व्यक्तित्व कृष्णमान शाक्य र बोधनारायण श्रेष्ठ रास्वपामा प्रवेश गरेपछि धादिङमा पार्टीभित्र नयाँ उर्जा संचार भएको देखिन्छ। आजको बैठकमा बोद्धनारायण श्रेष्ठ भने पितृ शोकमा रहेका कारण उपस्थिति भएनन् ।

रास्वपा केन्द्रले शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य र श्रेष्ठलाई केन्द्रीय संगठन विभाग उपप्रमुखको जिम्मेवारी दिएको छ।

बैठकमा केन्द्रीय सदस्य उपेन्द्र पान्डे, केन्द्रीय प्रशिक्षण विभागका सदस्यहरु कृष्णमान शाक्य, कृष्णमान श्रेष्ठ, केशव राज अधिकारी, प्रदेश समिति सदस्य राजन अर्याल, साथै जिल्ला, क्षेत्रीय, पालिका सभापति, सचिव र विभिन्न विभागका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।