
धादिङ – नेकपा (एमाले) धादिङले १३ वटै स्थानीय तहमा जेन्जी आन्दोलनपछि उत्पन्न अराजकता र लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा तथा संसद पुनःस्थापना गर्न र्याली र कोणसभा कार्यक्रम सम्पन्न गरेको छ।
एमाले नीलकण्ठ नगर कमिटीले ससाहबाट मोटरसाइकल र्याली निकाल्दै धादिङबेसी बजार परिक्रमा गरी एमाले चोकमा कोणसभा आयोजना गरेको थियो। धुनिबेसी नगर कमिटीले खानीखोला बजारमा र्यालीसहित कोणसभा गरेको छ।
थाक्रे गाउँपालिका कमिटीले महादेवबेसीमा र्यालीसहित कोणसभा, गल्छी गाउँपालिका कमिटीले गल्छीमा कार्यकर्ता भेला, गजुरी गाउँपालिका कमिटीले र्यालीसहित कोणसभा, बेनीघाट रोराङ गाउँपालिका कमिटीले मलेखुदेखि मौवा खोलासम्म मोटरसाइकल र्याली गरी कोणसभा गरेको थियो।
त्यस्तै, सिद्धलेक गाउँपालिका कमिटीले परेवाटारदेखि कालीदहसम्म मोटरसाइकल र्यालीसहित बुङचुङमा कोणसभा, ज्वालामुखी गाउँपालिका कमिटीले साँझभन्ज्याङमा, नेत्रावती डबजोङ गाउँपालिका कमिटीले हिरक पार्कमा र्यालीसहित कोणसभा सम्पन्न गरेको छ।
त्रिपुरासुन्दरी गाउँपालिका कमिटीले शीतल बजारमा कार्यकर्ता भेला भई कोणसभा आयोजना गरेको थियो भने गङ्गाजमुना गाउँपालिका कमिटीले फुलखर्कमा, खनियाबास गाउँपालिका कमिटीले कार्यकर्ता भेला, र रुवीभ्याली गाउँपालिका कमिटीले तिप्लिङ र सेर्तुङमा कोणसभा सम्पन्न गरेको थियो।
एमाले धादिङकी सचिव राधिका सापकोटाका अनुसार, “जेन्जी आन्दोलनपछि समाजमा फैलिएको अराजकता र राजनीतिक अस्थिरतालाई सम्बोधन गर्न, राजनीतिक स्थायित्व र सुशासनको सन्देश दिन तथा संसदको पुनःस्थापनाको दबाब सृजना गर्न जिल्लाभर कोणसभा आयोजना गरिएको हो।”

