
धादिङ । जेन–जी आन्दोलनपछि उत्पन्न अराजकताविरुद्ध नेकपा (एमाले) धादिङले जिल्लाभर बृहत् जनप्रदर्शनसहित कोणसभा कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका अनुसार कार्तिक २५ गते (आज) बिहान ११ बजेबाट सुरु हुने सो कार्यक्रम धादिङबेसीसहित जिल्लाका सबै १३ वटै पालिकामा एकसाथ सञ्चालन गरिने छ।
कार्यक्रमको उद्देश्य समाजमा देखिएका अराजक प्रवृत्तिको विरोध, राजनीतिक स्थायित्व र सुशासनको सन्देश प्रवाह गर्नु रहेको एमालेले जनाएको छ। जिल्लास्तरीय जनप्रदर्शन धादिङबेसीमा प्रमुख कार्यक्रमका रूपमा हुने र सबै पालिकाहरूमा पनि समानान्तर रूपमा कोणसभा सञ्चालन गरिने बताइएको छ।
यसैक्रममा नीलकण्ठ, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा भने मोटरसाइकल र्याली समेत आयोजना गरिने भएको छ।
एमाले नीलकण्ठ नगरकमिटीका अध्यक्ष काजी श्रेष्ठका अनुसार, र्यालीले अराजक प्रवृत्तिविरुद्ध सचेतना फैलाउने र युवाहरूमाझ संगठनको सन्देश पुगोस् भन्ने उद्देश्य लिएको छ।
नेकपा (एमाले) धादिङले जिल्लाभरका पत्रकार र सञ्चारकर्मीहरूलाई सो कार्यक्रमको समाचार संकलन तथा प्रचार–प्रसारमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
