
धादिङ । विश्वभर छरिएका धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजको समन्वयमा “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा नेपाल, फिनल्याण्ड, अमेरिका, जापान, क्यानडा, बेल्जियम, पोर्चुगल, युके, बहराइन, चेक गणतन्त्र, कोरिया र मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत धादिङे स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले धादिङ जिल्लाको वर्तमान स्वास्थ्य अवस्था, चुनौती र सम्भावित समाधानका उपायहरूबारे विस्तृत जानकारी दिँदै समाजले अघि बढाउने प्राथमिक क्षेत्रहरूबारे जानकारी गराए।
उनका अनुसार कार्यक्रममा मुख्यतः चारवटा प्रमुख उद्देश्यहरूमा छलफल भएको थियोः
1. धादिङको स्वास्थ्य अवस्था र चुनौतीहरू पहिचान गरी सहयोग गर्न सक्ने प्राथमिक क्षेत्र निर्धारण।
2. स्वास्थ्यकर्मी र विशेषज्ञबीच अनुभव, ज्ञान र सीप आदानप्रदानको अवसर सिर्जना।
3. धादिङका स्वास्थ्यकर्मी र चिकित्सकबीच दिगो र बलियो नेटवर्क निर्माण।
4. सामूहिक प्रयासमार्फत समुदायमा प्रभावकारी स्वास्थ्य परियोजनाहरू सञ्चालन गर्ने रणनीति तयार पार्ने।
कार्यक्रममा सहभागी विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूले जिल्लामा विद्यमान समस्या र सुधारका उपायबारे सुझाव दिएका थिए। विदेशमा रहेका चिकित्सक र विशेषज्ञहरूले ती समस्याहरूको समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
अन्तर्राष्ट्रिय धादिङ समाजले अब स्वास्थ्य विभाग गठन गर्ने र केही हप्ताभित्र जिल्ला स्वास्थ्य निकाय र नीलकण्ठ नगरपालिकासँग सहकार्य गरेर दीर्घकालीन स्वास्थ्य योजना तयार गर्ने निर्णय गरेको छ।
भर्चुअल अन्तरक्रिया कार्यक्रमको सञ्चालन प्रसूना कडेलले गरेकी थिइन्। उनी क्रिटिकल केयर आउटरीच विशेषज्ञ तथा न्यू बक्स विश्वविद्यालयकी व्याख्याता हुन्। साथै उनी एनआरएनए युरोप क्षेत्रीय समन्वयक पनि हुन्।
