कम्युनिस्ट युवाको भूमिका र समाज रूपान्तरण

Avatar photo
गोविन्द बुढाथोकी
कार्तिक २४, २०८२

उत्साह, ऊर्जा र सिर्जनशील सोचले भरिपूर्ण युवा समाज र राष्ट्रको प्रमुख मानवीय स्रोत हुन्। उनीहरूमा नयाँ विचार, प्रविधि र ज्ञान ग्रहण गर्ने क्षमता बढी हुन्छ, जसले उत्पादन र परिवर्तनको नेतृत्व गर्न सक्ने सामर्थ्य प्रदान गर्छ।

राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवा भनिन्छ। तर व्यवहारिक रूपमा, जससँग समाज परिवर्तनका लागि ऊर्जा, उत्साह र सृजनशील सोच छ, उसलाई पनि युवा मान्न सकिन्छ।

नेपालमा भर्खरै गठन भएको नेपाली कम्युनिस्ट पार्टीको युवा समूहले समाजका विविध अवयवहरूसँग जोडिएर कसरी काम गर्न सक्छ भन्ने सन्दर्भमा युवाहरूका भूमिकाबारे यो लेख तयार गरिएको हो।


🔴 कम्युनिस्ट युवाको भूमिका

कम्युनिस्ट युवाहरू सत्य, श्रम र अनुशासनमा आधारित जीवनशैली अपनाउने अग्रणी शक्ति हुन्। उनीहरूले भ्रष्टाचार, असमानता र सामाजिक कुरुतिहरूको विरोध गर्दै समाजमा एकता, सद्भाव र सहयोग फैलाउने कार्यमा संलग्न हुनुपर्छ।

सामाजिक विकास र उत्पादनमा निरन्तर श्रम गर्ने, सहकारी र स्थानीय उद्यमलाई प्राथमिकता दिने, र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने युवाहरूले समाजलाई रूपान्तरण गर्न सक्नेछन्।


🔹 कम्युनिस्ट युवाका प्रमुख कार्ययोजना

१. सामाजिक सेवा र जनसहभागिता

  • प्राकृतिक विपद् (बाढी, भूकम्प, पहिरो) मा उद्धार तथा राहतकार्यमा सक्रिय सहभागिता।
  • रक्तदान, वृक्षारोपण, सरसफाइ अभियान र वातावरण संरक्षण कार्यक्रम सञ्चालन।
  • विद्यालयहरूमा सचेतना कार्यक्रम र जनसेवामुखी गतिविधिमा विद्यार्थीको समावेश।
  • गाउँपालिका र नगरपालिकामा निःशुल्क सहयोगी दस्ता गठन।

२. शिक्षा र चेतना अभियान

  • भ्रष्टाचार निवारण कार्यक्रमहरू रेडियो र सामाजिक सञ्जालमार्फत सञ्चालन।
  • युवामा वैज्ञानिक सोच, श्रमप्रेम र राष्ट्रभक्तिको भावना विकास।
  • विद्यालय–कलेजमा सचेतना, संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन।

३. बेरोजगारी न्यूनीकरण र उद्यमशीलता

  • कृषि, पशुपालन, साना उद्योग, र प्राविधिक सीपसम्बन्धी तालिम आयोजना।
  • सहकारी संस्था र सामूहिक उद्यमको स्थापना र प्रवर्द्धन।
  • स्थानीय उत्पादन र बजार सञ्जालमा युवाको सहभागिता सुनिश्चित।

४. भ्रष्टाचार र अन्यायविरुद्ध संघर्ष

  • समाजमा देखिएका अन्याय र शोषणको विरोधमा जनचेतना फैलाउने।
  • भ्रष्टाचार निवारण सम्बन्धी कानुनी जानकारीलाई रेडियो नाटक वा श्रृङ्खलामार्फत सरल बनाउने।
  • समानता, पारदर्शिता र न्यायका मूल्यहरूलाई बलियो बनाउने अभियान।

५. राष्ट्रिय एकता र देशभक्तिको सुदृढीकरण

  • जातीय, धार्मिक र भाषिक सद्भाव कायम राख्ने।
  • राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका विषयमा युवालाई अग्रपंक्तिमा ल्याउने।
  • देशभक्तिपूर्ण संस्कृति र इतिहासको सम्मान गर्दै नयाँ पुस्तालाई राष्ट्र निर्माणमा संलग्न गराउने।

६. संगठनात्मक सुदृढीकरण र राजनीतिक सचेतना

  • मार्क्सवादी र समाजवादी सिद्धान्त अध्ययनमा प्रोत्साहन।
  • संगठनमा अनुशासन, पारदर्शिता र सामूहिक नेतृत्वको अभ्यास।
  • लोकतान्त्रिक अधिकार र राजनीतिक आन्दोलनका पक्षमा जनमत निर्माण।

यी बाहेक पनि पार्टीको नेतृत्व पंक्तिले दिएको निर्देशन अनुसार राजनीतिक कार्यक्रमहरूमा सहभागी हुने प्रशिक्षणहरूमा सहभागी हुने, अन्तरक्रिया कार्यक्रमहरूमा छलफल गर्ने, निरन्तर संगठनको सच्चा कार्यकर्ताको रूपमा आफूलाई कार्यान्वयनमा लगिराख्ने, कम्युनिस्टको सदाचरण र व्यवहारमा नेतृत्वलाई खबरदारी गरिराख्ने, जनवादी केन्द्रीयतालाई अनुसरण गर्ने तर आन्तरिक प्रजातान्त्रिक विधिलाई पालना गर्ने, सर्वसहमतिको नेतृत्व चयन गर्ने, विपत्तिहरूमा सबैसँग सहकार्य गर्ने, राज्य संयन्त्रका अवयवहरूसँग सधैँ अन्तरक्रिया छलफल गर्ने र अपडेट रहने, वाककला तथा भाषणकलालाई निखारता दिने, नेतृत्व शैली र क्षमतालाई विकास गर्न तालिम अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुने, सामाजिक विकासका सन्दर्भले सधैँ समता र समानतालाई प्राथमिकतामा राखी समाजवादी चिन्तनलाई निरन्तर मलजल गर्ने गर्नु नै आजको सच्चा देशभक्त युवाहरूको प्राथमिकताको विषय हो।