धादिङमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन ४६५ स्वयंसेविका परिचालन

Avatar photo
Dhadingpost
कार्तिक २०, २०८२

धादिङ । देशभर सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

धादिङमा यस अभियानका लागि ४६५ केन्द्रमा ४६५ जना नै स्वयंसेविका परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोया छत्कुलीले जानकारी दिए।

उनका अनुसार जिल्लामा ६ महिना देखि ५९ महिना उमेर समूहका २० हजार २४० बालबालिकालाई भिटामिन ‘ए’१ वर्षदेखि ५ वर्षसम्मका १७ हजार ८८५ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार भिटामिन ‘ए’ खुवाउँदा बालबालिकामा अन्धोपन, रोग प्रतिरोधात्मक क्षमता घट्ने समस्या, र जुकाको संक्रमणबाट हुने कुपोषणको जोखिम घट्ने बताइएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार देशभरका ७५३ स्थानीय तहमा सञ्चालन हुने दुईदिने अभियानमार्फत करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिइएको छ।