लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको ८औं जिल्ला अधिवेशन कार्तिक २२ मा हुने

Avatar photo
Dhadingpost
कार्तिक २०, २०८२

धादिङ ।हाम्रो अभियान — लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति धादिङले आफ्नो १७औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन यही २०८२ कार्तिक २२ गते शनिबार धादिङको बेनिघाट रोराङ–७, चरौदीस्थित विद्यालय प्राङ्गणमा आयोजना गर्ने भएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगर रहनेछिन्। सोही दिन आयोजना हुने अधिवेशनमा अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने तयारी भएको आयोजकले जनाएको छ।

धादिङ जिल्ला सदस्य सन्दिप स्याम्चेन तामाङका अनुसार, कार्यक्रममा लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाको पहिचान र स्रष्टाको सम्मानमुख्य उद्देश्यका रूपमा रहनेछ। उनले धादिङ पोस्ट डटकम परिवारसँग कुरा गर्दै, स्रोता–दर्शकहरूलाई कार्यक्रममा सहभागी भई सांगीतिक यात्राको गौरव बढाउन अनुरोध गरे।

आयोजक समितिले सम्पूर्ण संगीतप्रेमी, स्रोता र संस्कृतिप्रेमी नागरिकलाई उपस्थित भई लोकदोहोरी परम्पराको संरक्षणमा हातेमालो गर्न हार्दिक निमन्त्रणाको आह्वान गरेको छ।