
काठमाडौं । दशवटा कम्युनिस्ट दलहरू एक भएर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन भएका छन्।
राजधानीको भृकुटीमण्डपमा आयोजित एकता सभाबाट दुवै नेताहरूको नाम प्रस्तावित र पारित गरिएको हो। यस एकतामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव) बाट अलग भएका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवासराज काफ्ले नेतृत्वको समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (महेन्द्र राय यादव नेतृत्व), कर्णजित बुढाको नेकपा माओवादी समाजवादी, प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायतका घटकहरू सहभागी छन्।
नवगठित दलले सभामार्फत २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ, जसमा एकीकृत कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने, जनमुखी शासन प्रणालीको स्थापना गर्ने र राष्ट्रिय स्वाभिमान सुदृढ पार्ने जस्ता विषयहरू समावेश छन्।
दलका नेताहरूका अनुसार, यो एकता नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशातर्फ उन्मुख गराउने ऐतिहासिक कदमका रूपमा लिइएको छ।
