जनार्दन शर्मा: “प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो

Avatar photo
Dhadingpost
कार्तिक १८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डमाथि माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

शर्माले पत्रकार सम्मेलनमार्फत माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत साना दलहरूबीचको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेका हुन्।

उनका अनुसार, पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न रोक्ने उद्देश्यले ‘एकताको नाटक’ गरिएको हो।

शर्माले भने,

“पार्टीभित्र लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाको बाटो बन्द गरिएको छ। यस्तो एकताले न देशलाई निकास दिन्छ, न जनताको समर्थन पाउँछ। आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसकेको छ, हजारौँको केन्द्रीय कमिटी बन्न थालेका छन्।”

उनले थपे,

“हामीले यस्तो प्रवृत्ति स्वीकार गर्न सकेनौँ, त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका छौँ। अहिलेको ध्रुवीकरण सिद्धान्त र विचारभन्दा बाहिरबाट भइरहेको छ।”

शर्माको यो अभिव्यक्तिपछि माओवादी केन्द्रभित्र असन्तुष्ट पक्ष खुला रूपमा बाहिरिएको संकेत देखिएको छ।