धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३, सेमजोङले वडाभित्र सिसाका बोतल फुटाउँदा हुने दुर्घटना र प्रदूषणका घटनामा वृद्धि भएपछि ‘क्यान वियर’ मात्र प्रयोग गर्नुपर्ने सूचना जारी गरेको छ।
वडा अध्यक्ष सुरेश गुरुङले हस्ताक्षरित सूचनामा भनिएको छ, “वडाभित्र सञ्चालन भइरहेका होटल, चिया पसल, किराना पसल, विवाह भोज, छेवार, ब्रतबन्ध लगायतका कार्यक्रमहरूमा अब ‘क्यान वियर’ बाहेक अरू मदिरा प्रयोग गर्न नपाइनेछ।”
सूचनामा भनिएको छ, “वडाभित्र सिसाका बोतल फुटाउँदा टुक्राले बालबालिकादेखि स्थानीयसम्म घाइते हुने, वातावरणीय प्रदूषण र सरसफाइमा समस्या आउने भएकाले अबदेखि ‘क्यान वियर’ मात्र प्रयोग गर्न अनुरोध गरिएको छ।”
वडाले यस निर्णयले सामाजिक अनुशासन, जनसुरक्षा र सरसफाइमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, स्थानीय व्यवसायी, टोल विकास संस्था, र समुदायका प्रतिनिधिहरूलाई यो निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।
