
काठमाडौँ । देशभर निरन्तर जारी वर्षा आज हिजोको तुलनामा अझै बढ्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि भने मौसममा क्रमशः सुधार आउने सम्भावना छ।
महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार हालको वर्षा पश्चिमी वायु, अरब सागरमा विकसित प्रणाली र बङ्गालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ को संयुक्त प्रभावका कारण भइरहेको हो। पश्चिमी क्षेत्रमा मङ्गलबारदेखि वर्षा गराएको अरब सागरको प्रणाली हिजोदेखि कमजोर भए पनि, बङ्गालको खाडीमा सक्रिय मोन्था चक्रवातको प्रभावले अझै वर्षा बढाएको हो।
महाशाखाले जनाएको छ कि पछिल्ला ६ घण्टामा मोरङमा ८७ मिलिमिटर, सप्तरीमा ७४ मिलिमिटर, उदयपुरमा ७२ मिलिमिटर र झापामा ६० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
आज पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
