
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–स्थित सल्यानटारका आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई रिचार्जेबल ह्विलचियर वितरण गरिएको छ। पूर्ण रूपमा अशक्त भई घरमै बस्न बाध्य रहेका व्यक्तिहरूको सहज गतिशीलता सुनिश्चित गर्न गाउँपालिकाले उक्त पहल गरेको हो।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीका अनुसार ह्विलचियर वितरण कार्यक्रम अपाङ्गता भएका नागरिकको दैनिकी सहज बनाउनका लागि गरिएको हो। उहाँले समाजमा समावेशी र सम्मानजनक जीवनयापनका लागि पालिकाले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
गाउँपालिका उपाध्यक्ष देवराज धरेलले आधुनिक रिचार्जेबल ह्विलचियर वितरणमा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टक बहादुर रुवालीको महत्वपूर्ण योगदान रहेको बताएका थिए।
एक पटक चार्ज गरेपछि करिब १५ किलोमिटरसम्म आवतजावत गर्न सकिने र अरूको सहयोग बिना नै सहज रूपमा प्रयोग गर्न मिल्ने सुविधा सम्पन्न ह्विलचियरहरू वितरण गरिएको हो।
ह्विलचियर प्राप्त गर्ने व्यक्तिहरू यसप्रकार छन् —
१. रामबहादुर पाण्डे
२. लुरे विक
३. अम्बिका रिजाल
४. अन्जन श्रेष्ठ
५. कुन्जे माइला दरै
६. टिकानिधि बसौला
७. कुम्भ कुमारी गिरी
८. अमृता कुमाल
यस सहयोगले त्रिपुरासुन्दरी गाउँपालिकाका अपाङ्गता भएका नागरिकहरूको दैनिकीमा ठुलो सहजता ल्याउने अपेक्षा गरिएको छ। तस्वीर: त्रिपुरासुन्दरी गाउँपालिका कार्यालय
