‘मोन्था’ चक्रवातको प्रभावले धेरै ठाउँमा वर्षा र हिमपात हुने

Avatar photo
Dhadingpost
कार्तिक १३, २०८२

काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले देशका पूर्वी र मध्य क्षेत्रका धेरै स्थानमा गएरातिदेखि वर्षा सुरु भएको छ। यस चक्रवातको असर आगामी शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका पहाडी–हिमाली भूभागमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज राति र भोलिपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा र हिमपात जारी रहनेछ।
त्यस क्रममा कोशी, बागमती र गण्डकीका उच्च पहाडी भूभागमा ठूलो हिमपात, साथै कोशी, मधेश, बागमती र लुम्बिनीका केही ठाउँमा ठूलो वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।

मौसमी प्रभावका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सतर्क रहनुपर्ने प्रमुख जिल्ला रूपमा कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्ला, साथै दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लालाई उल्लेख गरिएको छ।