
✍️ निर्मल नारायण थपलिया
बिदेशीले सिकाउँछन् हामीलाई,
के मात्र सिकाएनन् —
जे सिक्नुपर्छ, सबै सिकाए हामीलाई।
जन्मिँदा ढक्कन खोल्न सिकाए,
जन्मेपछि ए-बि-सी बोल्न सिकाए।
कुपोषणमा डाइट खान सिकाए,
सभ्यताको टाइट लाउन सिकाए।
मिचीमिची हात धुन सिकाए,
सिंगान पुच्छिँदै झोला भिर्न सिकाए।
कमाउन पनि सिकाए, गुमाउन पनि सिकाए —
हामी रुढीबादी, हामी पुरातन,
हाम्रो संस्कृति, संस्कार भुल्न सिकाए।
नेपालीपन सिध्याए, बिदेशी चाल भित्र्याए।
उद्यम गर्न सिकाए, मन जित्न सिकाए,
बिरामीलाई सहयोग गर्न सिकाए,
भोकालाई भोजन बाँड्न सिकाए,
नाङ्गालाई लुगा ओढाउन लगाए।
“नगरेर त के हुन्थ्यो?” भन्दै
सफल बन्न सिकाए,
मानवता जस्तै बनिन सिकाए।
साक्षरता होस् वा नेतृत्व विकास,
अभिमुखीकरण होस् वा व्यावसायिक तालिम —
सबै गर्न उनीहरूले नै सिकाए।
कथित बौद्धिक व्यक्तित्वको
दिमाग भुट्न पनि यिनैले सिकाए।
अनुदान, सहयोग खाएर बाँच्न सिकाए,
गाउँ–शहर, देश–प्रदेश —
“आफ्नै राज्य” भन्न सिकाए।
नेता बने पनि भेडा भए जनता,
कसको गोटी कहिले बनियो?
कसले कहिले कहाँ ताक्दै छ?
राहत खाइयो कि सहयोग,
खाजा खाइयो कि भत्ता —
सिक्न त सिक्यौं, बुझ्न पनि सक्यौं।
तर थोपाथोपा रगत राष्ट्रघातको सङ्गालेर,
संसारभर पाइला टेक्ने सपना खोज्दै
भौतारिरहेछ नेपाल।
नेपालका भेडा जुधाउँदा
ताली बजाइरहेछ विश्व।
