सल्यनटारकाे खुल्ला क्रिकेट प्रतियोगिताकाे उपाधि धादिङ क्रिकेट टिमलाई

Avatar photo
Dhadingpost
कार्तिक ७, २०८२

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगिता २०८२ मा धादिङ क्रिकेट टिम विजेता बनेको छ। सल्यानटार क्रिकेट क्लबको आयोजनामा कात्तिक ३ देखि ५ गतेसम्म चलेको प्रतियोगिताको उपाधि धादिङ टिमले आफ्नो उत्कृष्ट प्रदर्शनका साथ हात पारेको हो।

फाइनल खेलमा गण्डकी क्रिकेट क्लब र धादिङ क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ओभरमा १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर धादिङ क्रिकेट टिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य १४ ओभरमै पूरा गर्दै ८ विकेटको शानदार जित हात पारेकाे थियाे ।

विजेता बनेको धादिङ क्रिकेट टिमले रु. ३५,०००, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता गण्डकी क्रिकेट क्लबले रु. २५,०००, ट्रफी र मेडल हात पारेको छ।

आयोजक सल्यानटार क्रिकेट क्लबका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरमा क्रिकेट खेलको विकास गर्नु र प्रतिभाशाली युवा खेलाडीहरूलाई अवसर प्रदान गर्नु रहेको थियो।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज पुरस्कार पनि प्रदान गरिएको आयोजक समितिले जनाएको छ।
तस्बिर: आयोजककाे फेसबुकबाट



x