अमेरिकामा नेपाली घरको सहयोगार्थ देउसी–भैलो २३ लाख संकलन

Avatar photo
Dhadingpost
कार्तिक ५, २०८२

नातिबाबु भट्ट
कोलोराडो (अमेरिका) |

अमेरिकाको कोलोराडोमा नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित देउसी–भैलो कार्यक्रमबाट करिब २३ लाख रुपैयाँ (१७ हजार ४० अमेरिकी डलर) संकलन गरिएको छ।

नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ काे सहयोगार्थ आयोजना गरिएको यो कार्यक्रम नेपाली घरको संयोजनमा तथा स्थानीय संघ–संस्था, समाजसेवी र कलाकारहरूको सहकार्यमा सम्पन्न भएको हो।

दुई स्थानमा भव्य कार्यक्रम
कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली घर केन्द्रमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो।

सेन्टेनियल, अरोरा: समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ का दिन साँझ ६ बजेदेखि राति ९:३० बजेसम्म चलेको कार्यक्रममा ६ हजार ७७९ डलर संकलन भएको नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले जानकारी दिए।

नेपाली घर केन्द्र: बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन र कल्चर एण्ड इभेन्ट अफिसर दिनेश कार्कीको सह–संयोजनमा अक्टोबर १९ का दिन आयोजित कार्यक्रममा १० हजार २६१ डलर संकलन भएको महासचिव भोला कटुवालले बताए।

नेपाली संस्कृति प्रवर्द्धन र नयाँ पुस्तालाई जोड
कार्यक्रमको उद्देश्य नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, रहनसहन र परम्पराको ज्ञान दिनु तथा स्थानीय समुदायमा नेपाली सांस्कृतिक पहिचान विस्तार गर्नु रहेको थियो।
नेपाली घरका पूर्व अध्यक्ष लछुमन रानाका अनुसार, यस्ता कार्यक्रमले प्रवासमा पनि मातृभूमिको सम्झना दिलाउने र नेपाली समुदायबीच एकता बढाउने काम गर्छन्।

संकलित रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकमले भवन मर्मत तथा मर्गेज भुक्तानीमा सहयोग गर्ने जनाइएको छ।

बालबालिकादेखि कलाकारसम्मको प्रस्तुति
स–साना बालबालिकाले राष्ट्रियगान गाएर कार्यक्रमको सुरुवात गरेका थिए।

गायिका संझना पाण्डे लगायतका कलाकारहरूले प्रस्तुत गरेका गीत–सङ्गीतले दर्शकको मन जितेका थिए।

अरोराको कार्यक्रममा ५३ परिवार र नेपाली घरमा ७३ परिवारले नाम लेखाएर सहयोग गरेका थिए।

परम्परागत पहिरनमा सजिएका सहभागी
कार्यक्रममा सहभागी पुरुषहरू दौरा–सुरुवाल र ढाकाको टोपीमा, महिलाहरू साडी–चोलोमा सजिएर उपस्थित भएका थिए, जसले प्रवासमै नेपाली संस्कृति झल्काएको थियो।

कोलोराडोमा नेपाली घरको संयोजनमा हरेक वर्ष आयोजना हुने देउसी–भैलो कार्यक्रम सांस्कृतिक एकताको प्रतीक बन्दै गएको छ।