
धादिङ । शुभ दीपावली (तिहार) लाई सुरक्षात्मक, सभ्य र सांस्कृतिक रूपमा मनाउन धादिङ जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, धादिङले शुक्रबार सूचना जारी गर्दै तिहारको अवसरमा सार्वजनिक शान्ति–सुरक्षामा अवरोध पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको हो। सूचना अनुसार तिहार पर्वलाई उल्लासपूर्ण र मर्यादित रूपमा मनाउन सबै नागरिक, संघसंस्था र समुदायलाई आह्वान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले हस्ताक्षरित सूचनामा विद्युत्, मैनबत्ती, दियो, पायल, आतसबाजी, फटाका, प्लास्टिकका बत्ती तथा अन्य आगलागी जोखिम हुने वस्तुको प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन जनाइएको छ। साथै, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हुल्लडबाजी वा अशान्ति सृजना गर्ने कार्य नगर्न चेतावनी दिइएको छ।
प्रशासनले राति १० बजेपछि कुनै पनि किसिमको सांगीतिक कार्यक्रम, डीजे, भेला तथा नाचगानजस्ता कार्यक्रम नगर्न अनुरोध गर्दै स्थानीय तहका सुरक्षा निकायलाई कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ।
त्यस्तै, जुवा, तास र त्यस्तै किसिमका अन्य जुवातास खेल नखेल्न र नगराउन पनि प्रशासनले स्पष्ट चेतावनी दिएको छ।
सूचनामा भनिएको छ, “तिहार उल्लासको पर्व हो तर यसलाई मर्यादित र सांस्कृतिक रूपमा मनाउँदा मात्र वास्तविक अर्थमा पर्वको सौन्दर्य झल्किन्छ।”
जिल्ला प्रशासनले सबै नागरिकलाई संयमता अपनाउन र कुनै पनि सुरक्षालाई चुनौती दिने कार्य भए तुरुन्त नजिकको प्रहरी वा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।












