
धादिङ । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कनमा देशकै उत्कृष्ट गाउँपालिकाको उपाधि हात पारेको बेनीघाट रोराङ गाउँपालिकाले पालिकाभित्रको शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित शैक्षिक सुधारका लागि सुझाव संकलन गोष्ठी आयोजना गर्दैछ।
गाउँपालिकाको शिक्षा शाखाले गोष्ठी असोज ३१ र कार्तिक १ गते गरी दुई दिनसम्म सञ्चालन गर्ने तयारी गरेको हो। कार्यक्रम वडा नं. १०, पदमचौर आधारभूत विद्यालयको प्राङ्गणमा हुने शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिए।
गोष्ठीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। कार्यक्रममा शैक्षिक सुधारका लागि व्यवहारिक सुझाव संकलनका साथै विद्यालयमा भइरहेको अध्यापनको प्रभावकारिता, विद्यार्थी मूल्याङ्कन, शिक्षक क्षमता अभिवृद्धि, विद्यालयको भौतिक सुधार, र अभिभावकको भूमिकाबारे छलफल गरिनेछ।
गाउँपालिकाले गत वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको ‘शैक्षिक सुधार अभियान’लाई अझ प्रभावकारी बनाउन यो गोष्ठी आयोजना गरिएको जनाएको छ। साथै, सहभागीहरूले प्रदान गर्ने सुझावलाई शैक्षिक नीति तथा कार्यक्रमहरूमा समावेश गरिने समेत शिक्षा अधिकृत पाठकले जनाए।












