
दोहा (कतार)। “समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नारासहित सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले आफ्नो २५औं वार्षिक साधारणसभा, विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
अक्टोबर १०, २०२५ मा दोहाको सनैया स्थित फुलबारी रेस्टुरेन्ट हलमा सम्पन्न उक्त कार्यक्रममा समाजका अध्यक्ष आयुष घलेको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललितकुमार तामाङ रहनुभएको थियो भने विशेष अतिथि गैरआवासीय नेपाली संघ (NRNA) कतारका वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ रहेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य समाजकी सह–कोषाध्यक्ष अनिता तामाङले प्रस्तुत गगरिन भने, उद्देश्यबारे जानकारी समाजका सचिव अम्बर बहादुर गुरुङले जानकारी दिएका थिए ।
वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष राज श्रेष्ठले प्रस्तुत गर्नुभयो भने, संस्थाको प्रगति प्रतिवेदन महासचिव रामहरी श्रेष्ठले प्रस्तुत गरेका थिए ।
प्रतिवेदनको प्रतिलिपि उपस्थित पाहुनाहरूलाई वितरण गरिएको थियो।
कार्यक्रममा आकर्षक सांस्कृतिक प्रस्तुति सहित मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत भएका थिए।
शिवानी घलेले आफ्नो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रदर्शनमार्फत दर्शकलाई मन्त्रमुग्ध पारिन्। त्यसैगरी मंगली तामाङ र शान्ति तामाङले स्वागत नृत्य प्रस्तुत गरे।
त्यस्तै, सरला तामाङ, एलिसा राई, सुजन गुरुङ, सपना मगर, सृष्टि लामा, सविता बान्तवा राई, प्रिया तामाङ, सानुमाया गुरुङ, सकुर जस्मिनलगायतका कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा थप रौनक भरेको थियो।
कार्यक्रममा विभिन्न संघ–संस्था, पत्रकार, कलाकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सल्लाहकार सुवास तामाङ, विशेष सल्लाहकार धिरेन तामाङ, संरक्षक कविन्द्र कँडेल लगायतका वक्ताहरूले समाजले प्रवासी नेपालीबीच एकता, सहयोग र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
प्रमुख अतिथि ललितकुमार तामाङले आफ्नो मन्तव्यमा “शिक्षा, एकता र सामाजिक उत्तरदायित्व”लाई प्राथमिकता दिएर समाजले २५ वर्षको यात्रामा प्रेरणादायी र अनुकरणीय कार्य गर्दै आएको उल्लेख गरे।
कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष आयुष घलेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अतिथि, प्रायोजक, सञ्चारकर्मी, कलाकार, स्वयंसेवक र सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन महासचिव रामहरी श्रेष्ठको रहेको थियो ।













