टी–२० विश्वकप छनोटः नेपाल आज युएईसँग सुपर सिक्सको पहिलो खेल खेल्दै

Avatar photo
Dhadingpost
अशोज २६, २०८२

मुख्य बुँदा:

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट–एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल आज युएईसँग सुपर सिक्स चरणको पहिलो खेल खेल्दैछ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर सिक्समा स्थान सुरक्षित गरेको हो। अब नेपालले आज (आइतवार) बेलुका ४ः१५ बजे युएईसँग खेल्दै सुपर सिक्सको यात्रा सुरु गर्नेछ।

सुपर सिक्सको शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

यो प्रतियोगितामा ९ टिम सहभागी भएका थिए। जसमा तीन टोली पहिलो चरणमै बाहिरिएपछि अब सुपर सिक्समा ओमान, नेपाल, युएई, कतार, जापान र सामोआ रहेका छन्।

आयोजक ओमानसहित नेपाल, युएई, कतार, जापान र सामोआले विश्वकप पुग्ने सम्भावना कायम राखेका छन्। यसअघि टी–२० विश्वकप खेलिसकेको पपुवा न्यु गिनी, कुवेत र मलेसिया भने समूह चरणमै बाहिरिएका छन्।

त्यस्तै, नेपालले सोमबार (असोज २७) गते कतारसँग सुपर सिक्सको दोस्रो खेल खेल्नेछ। नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ।

सुपर सिक्सको तेस्रो खेलमा नेपालले बुधबार (असोज २९) सामोआसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले शुक्रबार (असोज ३१) आयोजना देश ओमानसँग दिउँसो ४ः१५ बजे प्रतिस्पर्धा गर्नेछ।