गैरआवासीय नेपाली दिवस – एकता, पहिचान र योगदानको प्रतीक

Avatar photo
Dhadingpost
अशोज २५, २०८२

संसारभर छरिएर रहेका झण्डै ८० लाख नेपालीहरूको दिवस — गैरआवासीय नेपाली दिवस आज मनाइँदैछ।
गरिमा, एकता र सद्भावले भरिपूर्ण नेपाली संस्कृति, चाडपर्व, भाषा, धर्म, जातजाति र सिङ्गो इतिहास बोकेर परदेशिन बाध्य भएका नेपाली मनहरूलाई समर्पित यस दिवसको हार्दिक शुभकामना ।

“Right of NRNs, Foundation of Nation’s Prosperity” अर्थात् “गैरआवासीय नेपालीहरूको अधिकारको संरक्षण नै राष्ट्रको समृद्धिको आधार हो” भन्ने नाराका साथ, यस वर्षको गैरआवासीय नेपाली दिवस विश्वभरका नेपाली समुदायले उत्साहपूर्वक मनाइरहेका छन् ।

गैरआवासीय नेपाली संघ (NRNA) स्थापनादेखि हालसम्म “एकपटकको नेपाली, सधैंका लागि नेपाली” र “नेपालीका लागि नेपाली” जस्ता सशक्त नाराहरू अघि सारेको छ ।
त्यसका साथसाथै, प्रवासी नेपालीहरूको हकहितका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

परदेशिनुको पीडा, अहोरात्रको मेहनत र थकानलाई बिर्सँदै, नेपाली भाषा, साहित्य, चाडपर्व र संस्कृतिको जगेर्ना गर्न अग्रजहरूले गरेका प्रयास प्रशंसनीय छन् ।
परदेशमा सिकिएको सीप, क्षमता र आर्थिक उपलब्धिलाई स्वदेशमा उत्पादन, रोजगारी र सबलीकरणमा रूपान्तरण गर्ने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

देशमा भइरहेका विभिन्न चरणबद्ध आन्दोलनहरू र तिनले ल्याएका उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा, परदेशमा रहेका ८० लाख नेपालीहरूको भविष्य र नेपालको आर्थिक उन्नयनसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिनुपर्ने गैरआवासीय नेपाली समुदायको विशेष चासो रहेको छ ।

अग्रजहरूले विगतमा उठाइ आएका विषयहरूका सन्दर्भमा नेपाल सरकारले नागरिकताको विषयसहित प्रवासी नेपालीहरूको अधिकार र प्रतिनिधित्वलाई चासोका रूपमा अघि सारेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अहिले विश्वभर परदेशीय जनसंख्या राज्यसञ्चालनमा प्रतिनिधित्व पाउने अधिकारका विषयमा थप बहसहरू चलिरहेका छन् ।
त्यसकै सन्दर्भमा, अब ४० प्रतिशतभन्दा बढी परदेशी नेपालीहरूको प्रतिनिधित्व राज्यसञ्चालनका विभिन्न अंगहरूमा प्रत्यक्ष रूपमा सुनिश्चित गर्नुपर्ने माग उठ्न थालेको छ ।

मानव सभ्यताको स्वाभाविक हिस्सा बनेको आप्रवासन (Migration) को सन्दर्भमा पनि उल्लेखनीय उदाहरणहरू छन् ।
जस्तै, फ्रान्स जस्तो विकसित देशका करिब २५ लाख फ्रान्सेली नागरिक अन्य देशमा बसोबास गर्छन्, र फ्रान्सको संविधानअनुसार ती आप्रवासी फ्रान्सेलीहरूलाई प्रतिनिधित्वका लागि संसदमा १२ जना प्रत्यक्ष निर्वाचित सदस्य पठाउने व्यवस्था गरिएको छ ।
यो अभ्यास गैरआवासीय नागरिकहरूको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने उत्कृष्ट उदाहरणका रूपमा उल्लेखनीय मानिन्छ ।

नेपालका करिब ८० लाख परदेशी नेपालीहरूको प्रतिनिधित्व सुनिश्चित नगरिएसम्म, उनीहरूको ज्ञान, सीप र आर्थिक योगदानलाई राष्ट्रको विकाससँग प्रत्यक्ष रूपमा जोड्न कठिन हुने विशेषज्ञहरू बताउँछन् ।

त्यसैले, नेपालमा रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्न, परदेशमा रहेका दक्ष जनशक्तिको सीप, अनुभव र आर्जन स्वदेशमा फिर्ता गर्न सहुलियतपूर्ण संवैधानिक बाटो अब अत्यावश्यक भइसकेको छ ।

परदेशी हुनु र परदेशमा रहनु — दुई फरक सन्दर्भ हुन् । तर सार्क देशहरू सहित भुटान, म्यानमार र बर्मामा बसोबास गर्ने नेपालीहरू समेत गैरआवासीय नेपालीको श्रेणीमा पर्न नसक्नु र हालसम्म नेपाल सरकारले नागरिकताको विषयमा कुनै ठोस निष्कर्षमा पुग्न नसक्नु, बाध्यताले बिछोडिएको नेपाली समुदायका लागि अर्को विडम्बनाको पाटो बनेको छ ।

पवित्र संस्था गैरआवासीय नेपाली संघ (NRNA) राजनैतिक हस्तक्षेप र व्यक्तिगत स्वार्थको खेल मैदान बन्दै जाँदा “NRNA” जस्तो प्रिय शब्द नै अहिले अप्रिय लाग्न थालेको छ। हाल भइरहेका सम्पूर्ण गतिविधिहरू स्थगित गरी आपसी समझदारीका आधारमा दुई ध्रुवमा विभाजित NRNA लाई एउटै साझा स्थानमा ल्याई, विदेशमा रहेका नेपालीहरूको पीडामा मलम लगाउँदै, उनीहरूको मर्म र भावनालाई आत्मसात् गर्दै एकताबद्ध हुनु आजको आवश्यकता हो।

नागरिकता सहित परदेशमा रहेका करिब ८० लाख नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई सुव्यवस्थित र सुरक्षित गर्दै प्रत्यक्ष प्रतिनिधित्वको माध्यमबाट समुन्नत नेपालको निर्माणमा NRNA सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य छ । त्यसतर्फ सबैको ध्यान जानु अत्यावश्यक छ।

परदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा गैरआवासीय नेपाली दिवस २०२५ का हार्दिक शुभकामना !

(लेखकः बुढाथोकी गैर आवासीय नेपाली संघ (एजआरएनए) पोर्चुगलका महासचिव हुन् ।